काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० को सम्बन्धमा उपसमितिको प्रतिवेदनमाथि छलफल भएको छ । आइतबार बसेको समितिको बैठकले शिक्षा विधेयक, २०८० को सम्बन्धमा छलफल गरेको हो । उक्त छलफलमा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षक महासंघसँग गरेका नौं बुँदे सहमति कार्यान्वनमा आफू प्रतिवद्ध रहेको बताए । उनले शिक्षक महासंघमा प्रतिनिधिहरुले नौ बुँदे सहमति भन्दा अगाडि भएका सहमतिहरुलाई पनि छलफलको एजेन्डा बनाएकाले आफ्नो प्रतिबद्धता भनेको नौ बुँदे प्रतिवद्धता भएको बताए ।
उनले भने, ‘मैले गरेको नौ बुँदे सहमतिलाई कार्यान्वयन गर्न म प्रतिवद्ध छु । सरकारको मन्त्रीको हैसियतले मेरो प्रतिवद्धता हो । यसमा सत्ता गठबन्धन दलहरुको सबैको प्रतिवद्धता छ र स्वयम प्रधानमन्त्रीज्यूको पनि छ । नौ बुँदे सहमतिको हकमा प्रतिवद्धता छ तर अहिले सवाल नौ बुँदेको मात्रै होइन । शिक्षक महासंघमा साथीहरुले नौ बुँदे सहमति भन्दा अगाडि भएका सहमतिहरुलाई पनि छलफलको एजेण्डा बनाएर जोड दिइराख्नु भएको छ । स्वभाविक रुपमा त्यसमा पनि छलफल गर्छौं । तर मेरो कमिटमेण्ट भनेको नौ बुँदे प्रतिवद्धता हो । नौ बुँदे प्रतिवद्धतालाई सरकारले आफ्नो साधन स्रोतले भ्याएसम्म कार्यान्वयन गरेर जाने हो । त्यसमा अस्पष्ट रहेका कतिपय बुँदाहरुमा शिक्षक महासंघका प्रतिनिधिहरुसँग बसेर छलफल गर्नेछौं । र एउटा निक्र्यौलमा पुग्छौं ।’
साथै उनले आर्थिक बोझ पार्ने मागहरु यसैपाली यसरकारले बहन गर्न नसक्ने बताए । उनले प्रतिबद्धता गरेर भोलि व्यवहारमा कार्यान्वयन हुन नसक्ने प्रतिबद्धता गर्नुको अर्थ नरहेको बताए । उनले भने, ‘आर्थिक बोझ पार्ने मागहरु यसैपाली यही सरकारले बहन गर्न सक्दैन । हाम्रो अर्थतन्त्रले, आयस्रोतले गर्न सक्दैन । हामीले प्रतिबद्धता गरेर भोलि व्यवहारमा कार्यान्वयन हुन नसक्ने प्रतिबद्धता गर्नुको अर्थ छैन ।’