काठमाडौं : बिहारका पूर्वमुख्यमन्त्री तथा राष्ट्रिय जनता दलका अध्यक्ष लालुप्रसाद यादवले आफ्ना जेठा छोरा तेज प्रताप यादवलाई ६ वर्षका लागि पार्टीबाट निष्कासन गरेका छन्। लालु यादवले सामाजिक सञ्जाल एक्समा अबदेखि तेज प्रतापको पार्टी र परिवारमा कुनै पनि प्रकारको भूमिका नहुने बताएका छन्। उनले भनेका छन्,‘निजी जीवनमा नैतिक मूल्यमान्यतालाई बेवास्ता गर्नाले सामाजिक न्यायको लागि हाम्रो सामूहिक संघर्षलाई कमजोर बनाउँछ। जेठो छोराको गतिविधि, सार्वजनिक आचरण र गैरजिम्मेवार व्यवहार हाम्रो पारिवारिक मूल्यमान्यता र परम्परा अनुरूप छैन।’
लालु यादवले परिस्थितिका कारण आफ्नो छोरालाई पार्टी र परिवारबाट हटाएको बताए। उनले अबदेखि तेजप्रतापको पार्टी र परिवारमा कुनै पनि प्रकारको भूमिका नहुने भन्दै ६ वर्षका लागि पार्टीबाट निष्कासन गरिएको जनाए। उनले भने, ‘उहाँ आफैँ आफ्नो व्यक्तिगत जीवनको राम्रो र नराम्रो, गुण र दोष हेर्न सक्षम हुनुहुन्छ। उहाँसँग सम्बन्ध राख्ने जो कोहीले आफ्नै विवेकमा निर्णय लिनुपर्छ।’
यसअघि आरजेडी नेता तेजप्रताप यादवको फेसबुक अकाउन्टबाट एउटा पोस्ट गरिएको थियो। त्यसपछि तेजप्रताप यादवले इन्स्टाग्राममा पोस्ट गर्दै आफ्नो सामाजिक सञ्जाल ह्याक भएको र आफ्ना तस्बिरहरू गलत तरिकाले सम्पादन गरिएको बताएका थिए।