विराटनगर । नेकपा माओवादी केन्द्रले पनि भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ । शनिबार राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली कांग्रेसकै नेताहरुले छानबिनका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए । आइतबार कोशी प्रदेशसभा बैठकको शून्य समयमा बोल्दै नेकपा माओवादी केन्द्रका सांसद गणेश उप्रेतीले छानबिनका लागि गृहमन्त्रीको राजीनामा माग गरेका हुन् ।
‘हिजो प्रतिपक्षमा हुँदाखेरी सहकारीलगायतको विषयमा कुरा उठाएर नैतिकताको हिसाबमा राजीनामा दिनुपर्छ भनेर संसदमा माइक फुट्नेगरी कराउने नेता आज त्यहीँ पार्टीका धेरै नेताले राजीनामा दिनुपर्छ भनेर भनिसक्नु भएको छ, तर लाजै लजाउने गरी यो मुलुक लुटेराहरुले नै नेतृत्व गरिरहेको छ जस्तो गरेर बसिरहनु भएको छ,’ उनले भने,‘ देशको बदनाम हुनेगरी भ्रष्टाचारको पहल कदमीको नेतृत्व गरिरहनु भएको छ, उहाँलाई नैतिकताका आधारमा राजीनामा गर्न र सम्बन्धित पार्टीलाई त्यस्ता मन्त्रीलाई सरकारबाट फिर्ता बोलाउन आग्रह गर्छु ।’
उनले भुटानी सरणार्थी प्रकरणलाई पनि विर्साउने गरी भिजिट भिषा काण्ड बाहिर आएको बताए । ‘भुटानी सरणार्थी काण्डलाई पनि बिर्साउने गरी नेपालमा भिजिट भिसा प्रकरण मुलुकमा देखा परेको छ,’ उनले अघि भने,‘ हामी धेरैले भर्न्थ्यौ यो सरकार बिचौलियाहरुले बनाएको हो, तर त्यसलाई पनि उछिनेर मुलुकको इज्जत अन्तरराष्ट्रिय रुपमा बिस्थापित हुँदै गइरहेको छ।’