काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका विवादास्पद प्रमुख अध्यागमन अधिकृत(सहसचिव) तीर्थराज भट्टराईलाई पक्राउ गरेपछि गृहमन्त्री रमेश लेखकको भूमिकामाथि चौतर्फी प्रश्न उठेको छ । गृहप्रशासनमा उच्च अधिकारीहरुको भूमिकामाथि अख्तियारले निगरानी र अनुसन्धान सुरु भएको छ । सहसचिव भट्टराईलाई अख्तियारको टोलीले गत बुधबार नियन्त्रणमा लिएर राती छाडेको थियो । त्यो दिन अख्तियारले अरु तीन जनालाई पनि नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो ।सहसचिव भट्टराईका मोबाइल उपकरण नियन्त्रणमा लिएर परीक्षणका लागि पठाएको अख्तियारले भट्टराईलाई आगामी आइतबार(१८ जेठ)मा बयानका लागि बोलाएको छ ।
सहसचिवसँगको प्रारम्भिक सोधपुछ र पक्राउ परेका अरु तीन जना अख्तियारको प्रहरी टोलीले नै केरकार गरेको थियो । सम्बद्ध स्रोतका अनुसार, त्यसक्रममा मुख्यतः दुई जनासँग सहसचिव भट्टराईको संवाद र कागजात आदानप्रदान शंकास्पद देखिएको छ । अख्तियारले गृहसचिव गोकर्णमणि दुवाडी अनि मन्त्रालयको कर्मचारी प्रशासन हेर्ने सहसचिव छवि रिजालमाथि शंका गरिरहेको छ । त्यसैगरी अध्यागमन विभागका केही कर्मचारीहरू पनि शंकाको घेरामा परेको स्रोतले बतायो । गृहसम्बद्ध स्रोतका अनुसार, उपसचिव तहका प्रमुख जिल्ला अधिकारीहरूलाई जिम्मेवारीमा खटाउन समेत आफू सक्रियता देखाउने, एक्लै भेट्ने र स–साना काममा सोझै फोन गर्ने गृहमन्त्रीले कर्मचारीहरूमाझ आकर्षक मानिने अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन प्रमुखबारे रुची नराख्ने कुरै थिएन ।
यो पनि पढ्नुहोस
भिजिट भिसाका नाममा मानव तस्करी, शंकामा गृह प्रशासन
गृहका कर्मचारीहरूका अनुसार, मन्त्री लेखककै चाहेका र खटाएका व्यक्तिहरू संवेदनशील ठाँउमा खटाइएका थिए । स्रोतले भन्यो, ‘उनकै संरक्षणमा पोस्टिङ भएका भट्टराईले त्यसपछि गरेको क्रियाकलापले पनि राजनीतिक संरक्षणको आडमा मात्रै अध्यागमनमा विसंगतियुक्त गतिविधि गर्न सम्भव हुन्थ्यो भन्ने देखाउछ ।’अख्तियार सम्बद्ध स्रोतका अनुसार, सहसचिव तीर्थराज भट्टराईको साथबाट उनको कार्यालयको…१० र नीजि…८४ गरी दुईवटा मोबाइल बाहेक अर्को मोबाइल पनि फेला पारेर परीक्षणका लागि डिजिटल फरेन्सिक ल्याबमा पठाएको छ ।
भट्टराईको नियमित सम्पर्कमा रहेका केही एजेण्टसँग गृहमन्त्रालयका उच्च पदस्थ अधिकारीहरुको पनि नियमित सम्पर्क रहेको अख्तियार स्रोतले बतायो ।
अलि खुलस्त स्वभावका सहसचिव भट्टराईले आफूले गर्ने क्रियाकलापबारे निकटस्थलहरूसँग ‘शेयर’ गरेको र चुहिएको त्यो सूचना अख्तियारसम्म पुगेको सम्बद्ध स्रोत बताउँछ । त्यसपछि अख्तियारले उनको क्रियाकलाप, सम्पर्क र कारोबारमाथि निगरानी थालेको थियो । कारोबार नभेटिएपछि सम्पर्कका आधारमा एजेन्टहरू निगरानीमा परेका थिए । सहसचिव भट्टराईसँग नियमित सम्पर्कमा रहेकी एक व्यक्तिमाथि निगरानी गर्ने क्रममा अख्तियारले ठूलो कारोबार गरिरहेको फेला पारेको हो । अख्तियार स्रोतले भन्यो, ‘त्यसपछि उनलाई केन्द्रमा राखेर निगरानी गर्दा सेरोफेरोमा अरु कर्मचारी र एजेन्टहरू देखिएका छन् । थप प्रमाण भेटिएपछि उनीहरूलाई अनुसन्धानको दायरामा ल्याउने तयारी छ ।’ पूर्वसचिव शारदाप्रसाद त्रिताल गृहमन्त्रीले ‘कर्मचारी मुछिएको घटना’ भनेर उन्मुक्ति पाउन नहुने बताउँछन् । ‘सहसचिव स्तरको कर्मचारी मुछिएको घटनालाई गृहमन्त्रीले सामान्यीकरण गर्दै मिल्दैन, पूर्ण रुपमा जवाफदेही बन्नुपर्छ,’ उनी भन्छन्, ‘मुलुकको प्रमुख अन्तर्राष्ट्रिय विमानस्थलजस्तो संवेदनशील ठाँउमा के भइरहेको छ भनेर गृहमन्त्रीले नहेर्ने हो भने कसले जवाफ दिन्छ ?’
भ्रष्टाचारको आरोपमा मुछिएका र पटकपटक विवादास्पद क्रियाकलापमा संलग्न सहसचिव भट्टराईलाई मुलुकको संवेदनशील अध्यागमन कार्यालयमा खटाउनु, त्यही कार्यालयमा कार्यरत रहँदा विवादमा मुछिएकाहरूलाई सचिवालयमा ल्याएर राखेकाले गृहमन्त्री रमेश लेखकमाथि समेत शंका बढेको हो । तर अहिलेसम्म अख्तियारले उनीमाथि निगरानी गर्ने एवं अनुसन्धानको दायरामा ल्याउनेबारे कुनै तयारी गरेको छैन । पूर्वसचिव शारदाप्रसाद त्रिताल तीर्थराज भट्टराई अख्तियारको नियन्त्रणमा परेको घटनामा गृहमन्त्री मात्रै होइन, प्रधानमन्त्री समेत जवाफदेहीको दायरामा आउनुपर्ने बताउँछन् ।‘राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्रीको मातहत छ । आफू मातहतको निकायले कस्तो सूचना दियो ? त्यत्रो धन्दा हुँदा त्यो विभागले सूचित गर्नुपर्दैन ?,’ उनी भन्छन्, ‘हरेक हप्ता राष्ट्रिय
अनुसन्धानको प्रमुखले प्रधानमन्त्रीलाई समग्र घटनाक्रमबारे ब्रिफिङ गर्छ । प्रधानमन्त्री यस्तो गतिविधिप्रति कसरी बेखबर बने ?’