वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष तथा उद्योग समितिका सभापति श्री मनोजकुमार दासज्यूको अध्यक्षता र सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यूको प्रमुख आतिथ्यमा आज वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग उद्योगसँग सम्बन्धित विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा सहभागी उद्योगी तथा प्रतिनिधिहरूले उद्योग क्षेत्रमा विद्यमान समस्या, चुनौती तथा सम्भावित समाधानबारे आ–आफ्ना धारणा राखेका थिए। विभिन्न सरोकारहरू प्रस्तुत गर्दै उनीहरूले विद्युत, पूर्वाधार, कर प्रणाली, श्रमिक समस्या, सुरक्षा व्यवस्थालगायतका विषयमा ध्यानाकर्षण गराएका थिए।
कार्यक्रमका अध्यक्ष श्री मनोजकुमार दासज्यूले सहभागीहरूबाट उठेका बुँदाहरूप्रति सङ्घको विशेष ध्यानाकर्षण भएको बताउँदै ती विषयहरू सरोकारवाला निकायहरूसमक्ष प्रभावकारी रूपमा प्रस्तुत गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
त्यसैगरी, प्रमुख अतिथि अध्यक्ष श्री हरिप्रसाद गौतमज्यूले उद्योगीहरूले राखेका जिज्ञासाहरूलाई गम्भीरतापूर्वक सुन्नुका साथै स्पष्ट र तथ्यमा आधारित उत्तर दिनुभयो। उहाँले सङ्घ उद्योग क्षेत्रको सशक्त प्रतिनिधि संस्था भएकाले उद्योगीहरूका हकहितका लागि सधैं सक्रिय रहने प्रतिबद्धता दोहोर्याउनुभयो।
उक्त कार्यक्रममा सङ्घका पूर्व अध्यक्ष श्री अशोककुमार बैद्यज्यू, निवर्तमान अध्यक्ष श्री अनिलकुमार अग्रवालज्यू, वरिष्ठ उपाध्यक्ष श्री माधव राजपालज्यू, उपाध्यक्षद्वय श्री मनोजकुमार दासज्यू र श्री आशिषकुमार लाठज्यू, महासचिव श्री शिवजीप्रसाद कलवारज्यू, कोषाध्यक्ष श्री अनोज रुँगटाज्यू, सचिव श्री प्रेमचन्द्र गोयलज्यू, सह–कोषाध्यक्ष श्री निरज अग्रवालज्यू तथा सह–सचिवद्वय श्री नरेशकुमार टिवडेवालज्यू र श्री अनुप अग्रवालज्यूको समेत उपस्थिति रहेको थियो।
उद्योग क्षेत्रको समस्यालाई समाधानतर्फ लैजाने उद्देश्यका साथ आयोजित उक्त अन्तरक्रियाले सरोकारवालाबीच समझदारी र समन्वयको नयाँ ढोका खोल्ने विश्वास गरिएको छ।