सिरहा । सिरहा जिल्लाको नरहा गाउँपालिका वडा नम्बर १ स्थित एक पशुपालन तथा कृषि फर्मबाट ठूलो परिमाणमा लागू औषध गाँजा बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाको टोलीले गोप्य सूचनाका आधारमा गरेको छापामारीमा ३१ किलो ८२० ग्राम गाँजा सहित तीन जनालाई पक्राउ गरिएको हो।
आईतबार राती करिब ११ः३० बजे प्रहरी निरीक्षक आकाश उप्रेतीको नेतृत्वमा खटिएको टोलीले शिद्धीक्षा पशुपालन तथा कृषी फर्ममा छापा मारेको थियो। स्थानीय जनप्रतिनिधिको रोहबरमा गरिएको खानतलासीका क्रममा दुईवटा प्लास्टिकका बोरा फेला पारिएको थियो, जसमा क्रमशः १७.१५७ किलो र १४.६६३ किलो गाँजा लुकाइ राखिएको थियो।
गाँजा कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ पर्नेहरूमा सोही फर्मका सञ्चालक नरहा वडा नम्बर १ का ३५ वर्षीय संजय दास, सोही स्थानका ३१ वर्षीय रामशरण दास, तथा हाल त्यही वडामा बस्दै आएका बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ४ निवासी २० वर्षीय धिरज महतो रहेका छन्। धिरज महतो फर्म सञ्चालक संजय दासको गाडी चालकको रूपमा कार्यरत रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
प्रहरीले घटनास्थलबाट चार थान मोबाइल फोन र गाँजा प्याक गर्न प्रयोग गरिने सिलाउने मेसिन पनि बरामद गरेको छ। पक्राउ परेकाहरूलाई लागू औषध सम्बन्धी कसूरमा जिल्ला अदालत सिरहाबाट पाँच दिनको म्याद लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
प्रहरीले गाँजा कारोबारमा संलग्न अन्य व्यक्तिहरुको खोजी कार्य पनि जारी राखिएको जानकारी दिएको छ।