वीरगंज । कर्णाली प्रदेशबाहेक देशका सबैजसो ठाउँमा पानी परिरहेको छ । जल तथा मौसम पूर्वाअनुमान महाशाखाका अनुसार काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा गएरातिदेखि नै वर्षा भएको हो ।
पछिल्लो डेढ घण्टामा कोशी, मधेश, बागमती, गण्डकी, प्रदेशमा पानी परेको छ । ती क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भएको महाशाखाका मौसमविद् हरिप्रसाद दाहालले जानकारी दिनुभयो ।
आज दिउँसो विशेषगरी कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागका थोरै ठाउँहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
अहिले पश्चिमी वायु र स्थानीय वायुको प्रभाव तथा बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभावले विभिन्न ठाउँमा पानी परेको मौसमविदले बताएका छन् ।
देशका केही ठाउँमा मेघगर्जन,चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा असरबाट बच्न आवश्यक तयारी गर्न तथा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरको छ ।
महाशाखाका अनुसार अबको तीन दिनसम्म पानी पर्ने सम्भावना रहेको छ ।