नयाँ दिल्ली । ‘अपरेशन सिन्दूर’ र ‘सीमापार आतंकवादविरुद्ध भारतको निरन्तर लडाइँ’ बारे विश्वका विभिन्न देशहरूलाई जानकारी दिन सात प्रतिनिधिमण्डलहरू चाँडै विदेश भ्रमणमा जाने भएका छन्। संसदीय मामिला मन्त्री किरेन रिजिजुले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा पोस्ट गर्दै देश भ्रमण गर्ने नेताहरूको पूर्ण सूची जारी गरेका छन्। रिजिजुले जारी गरेको सूची अनुसार, यसमा भाजपा र कांग्रेस लगायत धेरै दलका नेताहरू समावेश छन्।
को कहाँ जाने ?
समूह १: बीजेपी सांसद बैजयन्त पाण्डा, भाजपा सांसद निशिकांत दुबे, एआईएमआईएम सांसद असदुद्दीन ओवैसी र अन्य ५ जना साउदी अरब, कुवेत, बहराइन, अल्जेरिया जानेछन्।
समूह-२: भाजपा सांसद रविशंकर प्रसाद, शिव सेना (यूबीटी) बाट प्रियंका चतुर्वेदी र अन्य ६ जना बेलायत, फ्रान्स, जर्मनी, ईयू, इटाली, डेनमार्क जानेछन्।
समूह-३: जनता दल युनाइटेडका सांसद संजय कुमार झा, तृणमूल कांग्रेसका सांसद युसुफ पठान र अन्य ७ जना इन्डोनेसिया, मलेसिया, कोरिया गणराज्य, जापान, सिंगापुर जानेछन्।
समूह-४: शिव सेना सांसद श्रीकान्त शिन्दे, भाजपा सांसद बांसुरी स्वराज र अन्य ६ जना युएई, लाइबेरिया, प्रजातान्त्रिक गणतन्त्र कंगो, सिएरा लियोन जानेछन्।
समूह-५: कांग्रेस सांसद शशि थरुर, भाजपा सांसद तेजस्वी सूर्य र अन्य ७ जना अमेरिका, पानामा, गुयाना, ब्राजिल, कोलम्बिया जानेछन्।
समूह-६: द्रमुक सांसद कनिमोझी करुणानिधि र अन्य ७ जना स्पेन, स्लोभेनिया, ग्रीस, लाटभिया, रूस जानेछन्।
समूह-७: एनसीपी (एससीपी) सांसद सुप्रिया सुले, भाजपा सांसद अनुराग ठाकुर र अन्य ७ जना इजिप्ट, कतार, इथियोपिया, दक्षिण अफ्रिका जानेछन्।
यी सात प्रतिनिधिमण्डलहरूको उद्देश्य भारतका प्रमुख साझेदार देशहरू र संयुक्त राष्ट्र सुरक्षा परिषद्का सदस्य देशहरूको भ्रमण गर्नु हो । उनीहरूले अतिवादमा भारतको अडान स्पष्ट पार्नेछन्।