काठमाडौं : सफा र स्थिर पानीमा अण्डा पार्ने, दिउँसो टोक्ने र रगत चुसेर आफूमा प्रोटिन बढाउने। त्यसपछि एकै चोटि झन्डै २ सय अण्डा पार्ने। यो पोथी लामखुट्टेको जीवनचक्र हो। यसले मानव समुदायमा डेंगुको संक्रमण बढाएको छ।
यो संकटमोचन गर्न स्वास्थ्य मन्त्रालयले विज्ञ संलग्न उच्चस्तरीय बैठक बोलाएको छ। डेंगु घट्नुको सट्टा तराईबाट पहाडतर्फ विस्तार हुन थालेपछि वैकल्पिक उपायको खोजीमा मन्त्रालय जुटेको हो। समयमै संक्रमितले उपचार पाए सहजै निको हुने डेंगु विकराल बन्दै गएपछि चिन्ता बढेको छ। यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा दिनेश गौतमले लेखेका छन् ।
स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको समन्वयमा बिहीबार बैठक बस्ने तयारी छ।
‘स्वास्थ्य मन्त्रालयले मात्र डेंगु नियन्त्रण गर्न नसक्ने पुष्टि भइसक्यो’, मन्त्रालयका उच्च तहका एक कर्मचारीले भने, ‘अन्य सरोकारवाला निकायबीचको समन्वय र सहकार्य चाहिने भएपछि उच्चस्तरीय बैठक बोलाउनुपरेको हो।’
डेंगुबाट यो वर्ष तीन जनाको ज्यान गएको छ। ४२ जिल्लामा बिरामी फेला परेको मन्त्रालयले जनाएको छ। मन्त्रालयकी सचिव डा. पुष्पा चौधरीले डेंगु नियन्त्रण गर्ने विषयमा बिहीबार उच्चस्तरीय बैठक गर्न लागेको पुष्टि गरिन्। ‘यसबारे धेरै थाहा छैन’, उनले भनिन्, ‘रोग नियन्त्रण महाशाखाबाटै बुझ्नुहोला।’
महाशाखाका निर्देशक डा. विवेककुमार लालका अनुसार पोथी जातको लामखुट्टेको बसाइ पहाडतिर सरेको छ। लामखुट्टेलाई अण्डा पार्न प्रोटिन आवश्यक पर्छ। त्यसका लागि मान्छेको रगत चुस्छ। भाले जातको लामखुट्टेले बोटबिरुवाको रगत चुसेर जीवनयापन गर्दछ।
संघीय संसद् र प्रदेश १ को प्रदेशसभा बैठकमा सांसदले डेंगु नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। गृहजिल्ला सुनसरीमा सबैभन्दा बढी संक्रमित देखिपछि प्रतिनिधिसभा सदस्य मीना सुब्बाले मंगलबार सदनमा यसबारे बोलिन्। ‘तीन महिनाअघि धरानमा देखिएको डेंगु पाँचथर उक्लिएको छ। यसको पखेटा दह्रो भएर आएको छ’, उनले भनिन्, ‘सरकारले लामखुट्टे मार्न र अण्डा नियन्त्रण गर्न किन सकेन ? ’
सरकारले लामखुट्टेको वासस्थान खोजी गरी अण्डा, लार्भा, प्युपा नष्ट गर्ने कार्य गरिरहेको छ। ‘र्यापिड रेस्पोन्स’ टिम बनाइएको छ तर लामखुट्टेले अण्डा पार्ने क्रम पनि जारी राखेको छ। मनसुन अगाडि धरानमा देखापरेको डेंगु नियन्त्रण गर्न नसक्नु सरकारको अक्षमता भएको सांसद सुब्बाको दाबी छ।
महाशाखाका निर्देशक डा. लालका अनुसार जमेको स्थिर पानीमा लामखुट्टेले अण्डा पार्छ। अण्डा पार्ने क्रम तराईबाट पहाडतिर सरेको छ। अण्डा, लार्भा र प्युपा खोज र नष्ट गर्ने अभियान चलाइए पनि रोग अनियन्त्रित बन्दै गएको छ।
लामखुट्टेको अण्डा नष्ट नगरी डेंगु नियन्त्रण गर्न नसकिने स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले बताए। ‘विश्वव्यापी रूपमै डेंगुले समस्या सिर्जना गरेको छ। नेपालमा मात्रै हो र ? ’, उनले भने।
चितवनमा ३४६ संक्रमित
चितवनका सहरी क्षेत्रमा डेंगु संक्रमण बढी देखिएको छ। भरतपुर महानगरपालिकाका १, २, ३ नम्बर वडाको बजार क्षेत्र बढी जोखिममा देखिएका छन्। नारायणगढका पुल्चोक, कमलनगर, क्षेत्रपुरमा संक्रमण देखिएको छ।
‘भेटिएका बिरामी अधिकांश सहरी क्षेत्रका छन्’, जिल्ला स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले भने, ‘सफा पानी धेरै जमेको स्थानमा संक्रमणको जोखिम बढेको हो।’ उनका अनुसार एक महिनामा संक्रमितको संख्या ३ सय ४६ पुगेको छ। यीमध्ये केही नवलपुर र मकवानपुरका पनि छन्।
डेंगु लागेर नारायणगढको गंगोत्री मार्गका ६१ वर्षीय वृद्धको मृत्यु भएको छ। जिल्ला स्वास्थ्य कर्यालयको तथ्यांकअनुसार गत आर्थिक वर्ष १ हजार ९ सय ५१ जनाको रक्त परीक्षण गर्दा ३१ जनामा मात्रै संक्रमण भेटिएको थियो। अघिलो वर्ष २०७३-७४ मा ७ सय ३९ जनामा डेंगु भेटिएको थियो।
‘डेंगुका बिरामी बढेका छन्’, भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा. प्रकाश खतिवडाले भने, ‘यसपटक सिजन नलाग्दै संक्रमण बढ्नु चिन्ताको विषय हो।’ उनका अनुसार भरतपुर अस्पतालमा पनि डेंगु र भाइरल ज्वरोका बिरामी बढेका छन्।
जोखिमयुक्त क्षेत्रमा महानगरपालिकाले लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरेको थियो। बजेट अभावका कारण पर्याप्त जनचेतनाको काम गर्न नसकिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।
ज्वरो आउनेलाई डेंगुको परीक्षण गर्न लगाइएको छ। तर, सरकारी अस्पतालमा किट अभाव छ। सोमबार भरतपुर अस्पतालमा उपलब्ध गराइएको किट मंगलबार दिउँसो सकिएको भेक्टर कन्ट्रोल निरीक्षक केसीले बताए। ‘बिरामीको संख्या बढे पनि परीक्षण गर्न पर्याप्त किट उपलब्ध हुन सकेको छैन’, उनले भने। स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले किट उपलब्ध गराउन नसकेको हो।
चितवनका दुई सरकारी अस्पताल भरतपुर र रत्ननगरमा डेंगु परीक्षण गर्ने किट निःशुल्क उपलब्ध गराइँदै आएको छ। किट अभाव हुँदै गएपछि बिरामी निजीमा चर्को शुल्क तिरेर डेंगु परीक्षण गराउन बाध्य छन्।
नियन्त्रण अभियान सुस्त
प्रदेश १ मा फैलिएको डेंगु तीन महिनामा पनि नियन्त्रणमा आएको छैन। सुरुमा सुनसरीको धरानमा यसको संक्रमण देखिएको थियो। मोरङ, उदयपुर, तेह्रथुम र पाँचथरलगायत जिल्लासम्म डेंगु फैलिएको छ।
धरानमा बिरामीको संख्या ५ हजार नाघेको अनुमान छ । धरानलाई डेंगु संकटग्रस्त क्षेत्र घोषणा गरी र्यापिड रेस्पोन्स टिम गठन गरिएको थियो । तर, उपलब्धि हात परेन। उक्त टिमले ‘सर्च एन्ड डेस्ट्रोय’ अभियान चलाएको थियो। रोग नियन्त्रण गर्न धरान उपमहानगरपालिकाले ३० लाख रुपैयाँ खर्च गरेको छ । तापनि, प्रत्येक घरमा डेंगु संक्रमित भेटिएको उपमहानगरका स्वास्थ्य शाखा प्रमुख रामबाबु यादवले बताए।
उदयपुरको कटारी नगरपालिकामा मात्रै २९ जना बिरामी परे। नगरपालिकाले सरसफाइ, चेतनामूलक प्रचार र लामखुट्टेको लार्भा नष्ट गर्ने अभियानबाहेक अन्य विकल्प खोज्न सकेको छैन। उदयपुरको भित्री मधेसमा पर्ने बेलका, चौदण्डीगढी, त्रियुगा र कटारी नगरपालिकामा ४० भन्दा बढी बिरामी भेटिएका छन्। धूवाँले लामखुट्टे भगाउने र चेतनामूलक माइकिङबाहेक डेंगु रोक्न अन्य उपायको खोजी भएको छैन।
स्थानीय तह पनि कसरी रोग नियन्त्रण गर्ने भनेर अलमलमा देखिन्छन्। कटारी नगरपालिका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले ‘सर्च एन्ड डेस्ट्रोय’ अभियान सञ्चालन, जनचेतनामूलक रेडियो कार्यक्रम, फगी स्प्रे, निःशुल्क औषधि वितरणलगायत कार्यक्रमलाई तीव्रता दिइएको बताए ।
पहाडी जिल्ला तेह्रथुममा १३ र पाँचथरमा पनि ३३ जनामा डेंगु संक्रमण देखिएको छ। ती जिल्लामा स्वास्थ्यकर्मीको मौखिक सल्लाह र स्थानीय तहको चेतनामूलक माइकिङबाहेक नियन्त्रणका लागि अन्य काम हुन सकेको छैन।
किट अभाव हुँदा परीक्षण प्रभावित
धादिङको जिल्ला अस्पताल धादिङबेंसीमा उपचार गराउन आउनेमा डेंगु र स्क्रब टाइफसको संक्रमण देखिएको छ। तर, अस्पतालमा पर्याप्त किट नहुँदा परीक्षण गर्न समस्या भएको छ। सरकारले तत्काल किट उपलब्ध गराउनुपर्ने माग जिल्ला अस्पतालका स्वास्थ्यकर्मीले गरेका छन्।
भदौमै पाँच जनामा डेंगु र १७ जना स्क्रब टाइफसका बिरामी भेटिएको अस्पतालले जनाएको छ। चिकित्सकको निगरानीमा उनीहरूको उपचार भइरहेको अस्पतालका सूचना अधिकारी कृष्णलाल उप्रेतीले बताए। अन्य बिरामीमा पनि यी रोगको संक्रमण भएको अनुमान चिकित्सकको छ। तर किट थोरै मात्र भएकाले परीक्षण गर्न सकिएको छैन। सिकिस्त बिरामीको मात्र परीक्षण गर्ने गरिएको अस्पतालले जनाएको छ।
डेंगु र स्क्रब टाइफसका लक्षण मिल्ने र उच्च ज्वरो आएका बिरामी दैनिक १० देखि १५ जनासम्म उपचार गराउन आउने गरेका छन्। जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत विष्णु रिजालले भने किट अभाव नहुने बताए। ‘यहाँ परीक्षण गराएका बिरामीको विवरण र रिपोर्ट स्वास्थ्य मन्त्रालयअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा पठाउनुपर्छ’, उनले भने, ‘त्यसपछि आवश्यक मात्रामा उसले किट पठाउँछ।’ यस रोगबाट बच्न उच्च सतर्कता अपनाउन चिकित्सकले सुझाव दिएका छन्।