काठमाडौं । भारतले बुधबार बिहान सबेरै पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीरमा गरेको मिसाइल आक्रमणमा इस्लामिक विद्रोही सँगठन जैश–ए–मोहम्मदका प्रमुख मौलाना मसूद अजहरको परिवारका दश सदस्य र उनका चारजना सहयोगीहरू मारिएको भारतले दाबी गरेको छ ।
भारतको समाचार संस्था पीटीआईका अनुसार अजहर सन् १९९४ मा भारतको गिरफ्तारीमा परेका थिए । अजहर नेपालबाट अपहरण भएको एयर इन्डिया आईसी ८१४ अपहरणपछि छोडिएका थिए ।
अजहरको बहावलपुरस्थित जैश मुख्यालयमा गरिएको हमलामा उनकी जेठी दिदी, भिनाजु, भान्जा, श्रीमती, भान्जी र परिवारका पाँच बालबालिका रहेको बताइएको छ ।
उनले बुधबार भने, “आज राति मेरा दशजना परिवारले शहादत पाए । पाँच निर्दोष बच्चा, मेरी जेठी दिदी, भिनाजु, मेरा विद्वान भान्जा र उनकी पत्नी, मेरी प्रिय भान्जी, मेरा प्रिय भाइ हुजैफा र उनकी आमा । र, अन्य दुईजना सहयोगी ।”
उनले मारिएकाहरू भगवानका पाहुना भएको बताएका छन् । उनले यो घटनाबाट आफूलाई पश्चाताप र निराश नभएको बताए ।
“तर के मात्रै लाग्छ भने म पनि यी १४ जनाको यात्रामा सामेल हुन सक्थेँ भन्ने कुरा मनमा बारम्बार आउँछ,” उनले भने, “उनीहरूको जाने समय आइसकेको थियो । तर, भगवानले उनीहरूलाई मारेनन् ।” उनले उनीहरुको अन्त्येष्टिमा सहभागी हुन आह्वान गरेका छन् ।
संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले अन्तर्राष्ट्रिय आतंकवादी सूचीमा राखेका ५६ वर्षीय अजहरले २००१ को संसद् आक्रमण, २००८ को मुम्बई हमला, २०१६ पठानकोट र २०१९ पुलवामा हमलाको योजनामा संलग्न रहेको भारतले आरोप लगाउँदै आएको छ ।
अजहर पाकिस्तानमा बस्ने गरेका भए पनि पाकिस्तानले उनको बारेमा जानकारी नभएको बताउँदै आएको छ । एनडीटीभी