वीरगञ्ज | गर्मीको मौसमसँगै वीरगञ्ज तथा आसपासका क्षेत्रमा बारम्बार देखिँदै आएको धाराहरु सुक्ने समस्या र समग्र पर्सा जिल्लामा देखिएको खानेपानी अभावको समाधानका लागि नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादव र वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंहबीच महत्वपूर्ण छलफल सम्पन्न भएको छ।
महानगर स्रोतका अनुसार, छलफलमा पानी आपूर्तिको दीर्घकालीन समाधान, भूगर्भ जलको समुचित उपयोग, नयाँ योजना निर्माण तथा पूर्वाधार विकासका विषयमा कुराकानी भएको जनाइएको छ।
महानगर प्रमुख सिंहले वीरगञ्जमा पानीको समस्या गम्भीर बन्दै गइरहेको बताउँदै केन्द्रसँग समन्वय गरेर समाधान खोज्ने प्रतिबद्धता जनाउनुभएको छ। यस छलफलबाट वीरगञ्ज मात्र होइन, समग्र पर्सा जिल्लाका बासिन्दालाई राहत मिल्ने अपेक्षा गरिएको छ।
स्थानीय बासिन्दाहरूले वर्षेनी गर्मीमा पानीका धाराहरु सुक्ने र दैनिक जीवनमा कठिनाइ हुने समस्या उठाउँदै आएका छन्। यसपटक भने संघीय सरकारसँगको प्रत्यक्ष संवादले स्थायी समाधानको आशा जगाएको छ।