ऋण र भोकले अत्याएपछि झोपडीको कुनामा सुस्काउँछन् ५९ बर्षीय महरा
वीरगंज संजाल
१२ माघ २०७६, आईतवार १४:०३
३७७७
धनुषा | फुसको झुप्रोभित्र पस्दा पनि आकाश देखिइन छाड्दैन, घरमा न अन्न छ, न सुत्ने खाट! फुसबाट बनेर पनि भत्कन थालेको यहि झुप्रोको एउटा कुनामा सुत्छन् ५९ वर्षीय लखनदेव महरा र उनका परिवार। भुइँमा पराल ओच्छ्याएर त्यसैमाथि ज्यान फालेपछि जसोतसो त निदाउँछन्, तर चिसो थेग्नै मुस्किल पर्छ। भोकै सुत्नुपरेको रात त कटाउनै मुस्किल पर्छ महरा परिवारलाई।
धनुषाको मिथिला विहारी नगरपालिका-८ मा बसोबास गर्ने अतिविपन्न महराका श्रीमती, छोरा र बुहारी छन्। उनका छोरा देवेन्द्र महराको उमेर पनि २० वर्ष भइसकेको छ। १७ वर्षमै विवाह गरेका देवेन्द्रका पनि तीन छोराछोरी छन्। तर झोपडीमा बसिरहेका बाबुआमालाई भरथेग गर्नुपर्ने देवेन्द्र स्वयम् मानसिक समस्यामा छन्।
जीवनमा र्याङठ्याङ नमिल्दा र गरिबीको चपेटामा चेपिएका लखनदेव ६० वर्षको बुढो शरीरलाई निरन्तर श्रममा घोटिरहेका छन्। यसको एउटै उद्देश्य हो- आश्रित परिवारका सदस्यहरुको भोक टार्ने। उनी स्थानीय एक व्यक्तिको खेतमा काम गर्छन्। मजदुरी गरे वापत पाएको ज्यालाले नै परिवार पाल्नुपर्ने बाध्यता छ।
उनका श्रीमती ६० वर्षीया सुदामा महरा पटक-पटक बिरामी पर्छिन्, मजदुरी गर्न सक्ने अवस्था छैन। बुहारी बबिताको काखमा ६ वर्षकी नानी छन्। त्यसैले उनी कतै काम गर्न पनि जान पाएकी छैनन्। लखनदेवले गरिबीका कारण जीवनमा धेरै दु:ख पाएका छन्। घरमा अन्नपात नहुँदा पेट कसेर भोकै सुतेका छन्।
भोक खप्न नसकेपछि गाउँमा माग्न हिँडेका छन्। दिनचर्या र समस्याबारे कुरा गर्दा आँशु बगाउँदै उनी भन्छन्- ‘काम नपाएको दिन परिवारका सबैजना भोकै सुत्छन्, के गर्नु? संकट झेल्दैछु।’ ‘सरकारले नागरिकता नदिँदा छोरा विकलाङ्ग बनायो’ लखनदेवसँग नेपालको जन्मसिद्ध नागरिकता छ। उनका श्रीमती, छोरा र बुहारीले हालसम्म नागरिकता बनाउन पाएका छैन। छोरालाई विदेश पठाउन सके घर चलाउन सहज हुने लखनदेवको सोच थियो।
छोराको नागरिकता बनाउन उनले पटक-पटक कोशिस गरे। कैयौंपटक प्रशासन धाए, तर नागरिकता बनाउन सकेनन्। नागरिकता नै नपाएपछि उनका छोरा देवेन्द्रमा मानसिक समस्या शूरू भयो। लखनदेव भन्छन्, ‘गाउँघरमा काम पाइँदैन, पाएपनि ज्याला थोरै दिन्छन्, नागरिकता अभावले छोरा विदेश पनि जान पाइरहेको छैन, सरकारले नै विकलाङ्ग बनाएको छ।
’ टाउकोमा ऋणको बोझ लखनदेवले तीन वर्षअघि ३६ प्रतिशत ब्याजदरमा एकलाख रुपैयाँ ऋण लिएर छोरीको बिहे गरे। गाउँलेसँग लिएको सो ऋणको ब्याज तिर्ने उपायसमेत छैन उनीसँग। ‘ऋण उठाएर छोरीको बिहे त गरेँ, तर त्यो ऋण कसरी तिर्ने भन्ने सोच्दा आँखाबाट आँशु झर्न थाल्छन्, रुन थाल्छु’, लखनदेव भन्छन्, ‘छोरा विदेश गएर कमाएपछि ऋण तिर्ने सोचेको थिए, त्यो पनि भएन।’
जग्गा-जमिन पनि नभएकाले गाउँलेको ऋण तिर्न सक्ने/नसक्नेबारे उनी अन्यौलग्रस्त र त्रसित छन्। लखनदेवकी बुहारी बबिताको काखे बच्चा बिरामी छन्। सुस्काउँदै उनले भनिन्, ‘पैसाको अभावले बच्चाको उपचार पनि सकेकी छैन, केहि दिनअगाडी उपचार गराएँ, त्यो बेलाको १० हजार रुपैयाँ तिर्नै बाँकी छ, अब फेरी कुन मुखले उधारो माग्न जान्छु?’ फेसबुकले जुटायो राहत गरिबी र अभावले जर्जर अवस्थामा बाँचिरहेका लखनदेवको समस्याबारे जानकारी पाएपछि स्थानीय राजेश यादवले फेसबुकमा लखनदेव र उनको फुसको झुप्रो सामाजिक सञ्जाल फेसबुकमा राखे।
गरिबीको संकट झेलिरहेका लखनदेवका तस्विरहरु भाइरल बने। धनुषाको औरही गाउँपालिका ५ का सामाजिक अभियन्ता सरोज मण्डल फेसबुकमा लखनदेवको तस्विरहरु देखेर विह्वल भए। अहिलेको समयमा पनि यस्तो गरिबीको अवस्था रहेको भन्नेमा शूरूमा उनी विश्वस्त नै भएनन्। वास्तविकता बुझ्न अभियन्ता मण्डल लखनदेवको घर नै पुगे। घर पुगेपछि लखनदेव परिवारले झेलिरहेको समस्या देखेर आश्चर्यचकित भए।
स्थानीय सरकारले समेत लखनदेवको समस्या समाधानमा चासो नदिएको देखेपछि साथीहरुसँग मिलेर आफैंले सहयोग गर्ने योजना बनाए, सहायता संकलन गरे। ६० हजार रुपैयाँ संकलन भएपछि अभियन्ता मण्डलले सो रकमबाट सुत्ने खाट, लत्ताकपडा, ग्यास र खानेकुराजस्ता जीवन निर्वाहका लागि अत्यावश्यक सामान खरिद गरी लखनदेवलाई हस्तान्तरण गरेका छन्।
अभियन्ता मण्डलले गरेको सहयोगबाट लखनदेवको परिवारले केहि दिन त गुजार्न सक्लान्, तर खानेकुरा सकिएपछि उनीहरु फेरि कहालिलाग्दो गरिबीको दुष्चक्रमा फर्कर्ने निश्चितप्राय: छ। स्थानीय सरकार वा हालै सहयोग गरेका मण्डलजस्तै मनकारी सहयोगीहरुबाट सहयोग आवश्यक छ। Thahakhabar