काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरीकै मिलेमतोमा क्रिप्टोकरेन्सी (अभौतिक मुद्रा) को कारोबार गर्ने एक व्यक्ति लुटिएको घटना सार्वजनिक भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले घटनामा संलग्न रहेको आरोपमा दुई प्रहरी, एक सशस्त्र प्रहरी र तीन सर्वसाधारणसहित सात जनालाई सोमबार पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले लाखौं रुपैयाँ बरामद गरेको जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीका अनुसार १९ फागुन साँझ तिलिङ्गे टार क्षेत्रमा क्रिप्टोकरेन्सी कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो । छापा मार्ने क्रममा धादिङ घर भई टोखा बस्ने २६ वर्षीय रोशन गुरुङलाई दुई लाख ५९ हजार नगदसहित पक्राउ गरिएको थियो । त्यसपछि उनको घरमा खानतलासी गर्दा प्रहरीले थप एक ल्यापटप बरामद गरेको थियो । गुरुङले एक अर्ब ८७ करोड रुपैयाँ बराबरको क्रिप्टो कारोबार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले बताए ।
गुरुङलाई पक्राउ गरी थप अनुसन्धान गर्ने क्रममा उनले आफूलाई एक दिनअघि दुई जना व्यक्तिले प्रहरी परिचयपत्र देखाएर १४ लाख रुपैयाँ लुटेको बताएका थिए । त्यसपछि प्रहरीले अनुसन्धान थालेको थियो । अनुसन्धानको क्रममा लुटपाटमा संलग्न प्रहरी र सशस्त्र प्रहरी नै रहेको खुलेको हो । प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीका अनुसार लुटपाटमा संलग्न हुनेमा प्रहरी सहायक हवल्दार खगेन्द्र मल्ल ठकुरी, प्रहरी जवान हिरा मग्राती र सशस्त्र प्रहरी सहायक हवल्दार संजोग तामाङ रहेका छन् । उनीहरुको साथमा कपिल बस्नेत र अन्य दुई जना सर्वसाधारण पनि रहेको प्रहरीले जनाएको छ ।
उनीहरुले गुरुङलाई रेस्टुरेन्टमा बोलाएर प्रहरी परिचयपत्र देखाउँदै हतकडी लगाएर १४ लाख रुपैयाँ लुटेका थिए । उक्त रकम प्रहरी र सशस्त्र प्रहरीले ७ लाख र अन्यले ७ लाख बाँडेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले संजोग तामाङ र कपिल बस्नेतको साथबाट १२ लाख १० हजार रुपैयाँ बरामद गरेको छ । त्यसैगरी, सशस्त्र प्रहरी सहायक हवल्दारको बैंक खातामा ७ लाख रुपैयाँ जम्मा भएको पाइएको छ । प्रहरीले उनीहरुको साथबाट ६ ओटा मोबाइल पनि बरामद गरेको छ । घटनामा संलग्न प्रहरी, सशस्त्र प्रहरी र सर्वसाधारण गरी सात जनालाई पक्राउ गरी मंगलबार सार्वजनिक गरिएको छ । पक्राउ पर्नेमा क्रिप्टोकारोबारी रोशन गुरुङ पनि छन् ।
जिल्ला अदालत काठमाडौंबाट ७ जना पक्राउ परेकालाई डाँका चोरी र अवैध मुद्रा कारोबार अन्तर्गत अनुसन्धानका लागि ५ दिनको म्याद थप गरी अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।