वीरगंज । सशस्त्र प्रहरी बलले वीरगन्ज भन्सार क्षेत्रबाट एक थान एयरगन र त्यसमा लाग्ने ८२ राउण्ड गोलीसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारत पश्चिम बंगालको खिदिरपुर घर भई हाल नेपालको ललितपुरमा बसेर फर्निचरको काम गर्दै आएका ३४ वर्षीय मिम्मर हुसेन रहेको सशस्त्र प्रहरी नायब उपरीक्षक नरेन्द्रसिंह धामीले जानकारी दिए।
उनका अनुसार शुक्रबार दिउँसो २–३ बजेको समयमा भारतको रक्सौलबाट वीरगन्ज आउँदै गरेका हुसेनलाई सशस्त्र प्रहरीको प्रस्तावित सीमा सुरक्षा गुल्मको टोलीले पक्राउ गरेको हो।
रक्सौलबाट खुलेआम एयरगन र गोली लिएर पैदल आउँदै गरेका हुसेनको साथबाट मोडल नम्बर एम–३५ को एयरगन एक थान र त्यसमा लाग्ने गोली ८२ राउण्ड बरामद गरिएको धामीले बताए।
एयरगन र गोलीसहित नियन्त्रणमा लिइएका हुसेनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि शुक्रबार नै प्रहरी चौकी इनर्वामा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक धामीले जानकारी दिए।