वीरगंज | भारतको प्रयागराजमा १२ वर्षपछि सम्पन्न भएको महाकुम्भको मेला भक्तजनहरूले अत्यधिक भीडका बीच अनुभव गर्दै छन्। सडक र रेलमार्गमा भारी अवरोधका कारण मानिसहरूले महाकुम्भमा स्नान गर्नका लागि नयाँ तरिकाहरू अपनाइरहेका छन्। यसैबीच, बिहारको बक्सरका सात युवाले एक अनौठो तरीका अपनाएर सबैको ध्यान खिचेका छन्।
ट्रेन र बसमा सिट नपाएपछि उनीहरूले गङ्गा नदीमार्फत मोटर बोट चढ्ने निर्णय गरे। ५५० किलोमिटर लामो यात्रा गर्न उनले दुई वटा इन्जिन जडित बोट प्रयोग गरे र करिब ८० घण्टा लामो यात्राको सामना गरे। १० र ११ फेब्रुअरीका दिन प्रयागराजको सडक र रेलमार्गमा अत्यधिक भिडभाड भएपछि उनीहरूको यात्रा सुरु भएको हो।
बक्सरबाट सुरु भएको यो यात्रा गाजीपुर र वाराणसी हुँदै प्रयागराजमा पुगेर सम्पन्न भएको थियो। बोटमा खाना पकाउने ग्यास सिलिन्डर, स्टोभ, पेट्रोल र आवश्यक सामग्री राखिएको थियो। सातजना सवारमध्ये दुई जनाले पालैपालो बोट चलाए, जबकि बाँकी पाँच जना विश्राम गर्दै यात्रा पूरा गरे।
यात्रामा २० हजार रुपैयाँ खर्चिएर उनीहरूले प्रयागराजसम्मको यात्रा सफलतापूर्वक पूरा गरे। प्रयागराज पुग्नुअघि, उनीहरूले सङ्गमभन्दा पाँच किलोमिटर पूर्व बोटबाट ओर्लिएर बाँकी यात्रा बस वा अन्य साधनबाट पूरा गरे।
यस अनौठो यात्राको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि विभिन्न प्रतिक्रिया आए। कतिपयले “जहाँ चाह, त्यहाँ राह” भन्ने भनाइसँगै उनीहरूको यो प्रयासको प्रशंसा गरे भने केहीले रमाइलो शैलीमा व्यङ्ग्य पनि गरे। महाकुम्भमा सहभागी हुन यी युवाहरूको यो वैकल्पिक यात्रा अहिले चर्चाको विषय बनेको छ।