वीरगंज । पर्सा जिल्लाको ठोरी गाउँपालिकामा आज विहान एक जना पुरुषको शव फेला परेको छ। स्थानीयहरूले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले घटनास्थलमा पुगेर शवको पहिचान गरेको छ र मृतकको नाम राजदेव माझी रहेको पुष्टि भएको छ।
४५ वर्षीय मृतक भारतीय नागरिक पश्चिमी चम्पारण, मानपुर थाना अन्तर्गत चौहाटा निवासी रहेको र उनी भारतबाट नेपाल आएका थिए भन्ने जानकारी प्राप्त भएको छ। शव ठोरी गाउँपालिका वडा नम्बर ५ बाघमोर्चा पुलको दक्षिण र भारतिय सीमा नजिकको झाँडीमा फेला परेको थियो। घटनास्थलमा देखिएको अवस्था र शवको स्थिति हेर्दा उनको हत्या गरेर फालिएको आशंका गरिएको छ।
प्रहरी निरीक्षक रन्जित लामाका अनुसार, मृतकको साथबाट मोबाइल र डायरी फेला परेको छ। यस घटनामा हत्याको आशंका गहिरो रूपमा उठेको छ र प्रहरी अहिले घटनाको बारेमा थप अनुसन्धान गरिरहेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साले यो घटना बारेमा थप जानकारी सङ्कलन गर्दै छ र यस घटनामा संलग्न व्यक्तिहरूलाई पहिचान गर्ने प्रयास जारी राखेको जनाएको छ।