वीरगंज । यस वर्षको कठोर शीतलहरका कारण प्रभावित गरिब र विपन्न परिवारहरूलाई राहत सामग्री र न्यानो कपडा वितरणमा योगदान दिने विभिन्न संस्थाहरूलाई पर्सा जिल्ला प्रशासनले सम्मानित गर्ने भएको छ।
जिल्ला प्रशासन कार्यालय पर्साद्वारा जारी गरिएको पत्र अनुसार, राहत र विपद् व्यवस्थापनमा प्रभावकारी भूमिका निर्वाह गरेका संस्थाका प्रतिनिधिहरूलाई आगामी माघ २९ गते एक विशेष समारोहमा सम्मान गरिने छ।
समारोह जिल्ला प्रशासन कार्यालय पर्साको सभा हलमा आयोजना हुनेछ। यस कार्यक्रममा रूंगटा वेलफेयर सोसाइटी, वीरगञ्ज उद्योग वाणिज्य सङ्घ, नेपाल पत्रकार महासङ्घ, नेपाल रेडक्रस सोसाइटी (पर्सा शाखा), रोटरी क्लब अफ वीरगञ्ज, नेपाल युवा उद्यमी मञ्च (वीरगञ्ज च्याप्टर), ग्रिन सिटी सामुदायिक सेवा केन्द्र, र लायन्स क्लब वीरगञ्जलाई सम्मान गरिने सहायक प्रमुख जिल्ला अधिकारी निशानराज गौतमले जानकारी दिएका छन्।
समारोहको मुख्य उद्देश्य सामाजिक उत्तरदायित्व वहन गर्ने संस्थाहरूलाई हौसला प्रदान गर्नु रहेको छ। कार्यक्रममा प्रत्येक संस्थाका अध्यक्ष वा वरिष्ठ पदाधिकारीलाई आमन्त्रण गरिएको गौतमले बताए।
पर्सा जिल्लामा शीतलहरको कठोर प्रभावलाई न्यूनीकरण गर्न विभिन्न संस्थाहरूले गरिब तथा विपन्न वर्गका लागि राहत सामग्री वितरणमा महत्त्वपूर्ण भूमिका खेलेका छन्। यस सम्मान कार्यक्रममा सरकार र स्थानीय समुदाय बीचको सहकार्यलाई थप मजबुत बनाउने आशा गरिएको छ।