बारा । अवैध गाँजा खेती नियन्त्रणका लागि प्रहरीले बारा जिल्लामा व्यापक कारबाही गरेको छ। बारा प्रहरी कार्यालय मातहतका प्रहरी इकाइहरूको संयुक्त टोलीले ९ बिगाह क्षेत्रफलमा लगाइएको अवैध गाँजाको बोट फडानी तथा नष्ट गरेको छ।
इलाका प्रहरी कार्यालय अमलेखगन्जबाट खटिएको टोलीले जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २२ स्थित चकरी गाउँ र नयाँ बस्तीमा रहेको ५ बिगाह क्षेत्रफलको गाँजाखेती फडानी गरेको हो।
त्यसैगरी, इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलीले निजगढ नगरपालिका वडा नम्बर १२ र १३ को क्षेत्रमा फैलिएको ४ बिगाह क्षेत्रफलमा रहेको गाँजाको खेती नष्ट गरेको छ।
प्रहरीका अनुसार गाँजा खेती फडानी र नष्ट गर्ने अभियानलाई स्थानीय समुदायको सहयोगमा अगाडि बढाइएको हो। यस प्रकारको कारबाहीले गाँजा खेती नियन्त्रण र स्थानीय क्षेत्रमा अवैध गतिविधि रोकथाममा योगदान पुग्ने विश्वास गरिएको छ।
बारा प्रहरीले यस्ता अवैध खेती नियन्त्रणका लागि निरन्तर निगरानी राख्दै कडा कारबाही जारी राख्ने बताएको छ।