वीरगंज । मधेश प्रदेश लोकसेवा आयोगले प्रदेश निजामती वन सेवाको सहायक तेस्रो तह वनरक्षक पदको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन गरेको छ । प्रदेश निजामती सेवाको वनसेवा, जनरल फरेस्ट्री समूहका सहायक तेस्रो तह वनरक्षक पद (खुला तथा समावेशी) प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नुपर्ने भएकाले योग्यता पुगेका उम्मेदवारहरूबाट बिहीबार दरखास्त आह्वान गरिएको हो ।
मधेश प्रदेशमा स्वीकृत दरबन्दीअनुसार ५२ वनरक्षक रिक्त रहेको प्रदेश वन तथा वातावरण मन्त्रालयले प्रदेश लोकसेवा आयोगलाई जानकारी गराएको थियो । आयोगले सोहीअनुसार ५२ वनरक्षकका लागि प्रतियोगितात्मक परीक्षा हुनेगरी विज्ञापन गरेको हो ।
आयोगमा अध्यक्षलगायत एक सदस्य रिक्त रहेकाले प्रदेशका रिक्त दरबन्दी पूर्ति गर्न कठिन हुँदैआएको थियो । जनमत नेतृत्वको प्रदेश सरकारले आयोगका अध्यक्ष र एक सदस्य नियुक्त गरेपछि रिक्त दरबन्दीका लागि विज्ञापन, कर्मचारी बढुवालगायतका काममा तीव्रता आएको छ ।
आयोगले प्रकाशित गरेको विज्ञापनमा खुलातर्फ २७, मधेशी महिला ७ जना, दलित महिला २ जना, मुस्लिम महिला २ जना, मुस्लिम १ जना, आदिवासी जनजाति महिला एकजना, थारू महिला १ जना, आर्थिक रूपले विपन्न खसआर्य महिला १ जना र अपाङ्ग महिला गरी एकजनाका लागि दरखास्त आह्वान भएको जनाइएको छ ।
वनजङ्गलको नियमित गश्ती गर्ने, वनजङ्गलबाट चोरीनिकासी हुन नदिने, आफूले गश्ती गर्ने वनको अवस्थाबारे जानीराख्ने र त्यसबारे सम्बन्धित वन कार्यालयलाई जानकारी दिने, वनक्षेत्रमा आगलागी हुन नदिने र अकस्मात् आगलागी भएमा वनजङ्गल र वन्यजन्तुलाई जोगाउने तथा आगलागी नियन्त्रण गर्ने, वन्यजन्तुको स्वास्थ्यको ख्याल गर्ने, वन्यजन्तुहरू बिरामी भएमा वा घाइते भेटिएमा उपचारको प्रबन्ध मिलाउने, वनजङ्गलका माउ रुख पहिचान गर्ने, बिउ संकलन, बिरुवा उत्पादन र वृक्षरोपणजस्ता कार्य गर्ने जस्ता जिम्मेवारी वनरक्षकको हुने गर्दछ ।
प्रदेश वन तथा वातावरण मन्त्रालयका प्रदेशसचिव उद्धवबहादुर घिमिरेले प्रदेशमा तीन सय २२ जना वनरक्षकको दरबन्दी रहेको बताए । उनले त्यसका अतिरिक्त ८ सुबेदार, १६ जमदार, ३२ हबलदार र १२८ सशस्त्र वनरक्षक गरी १ सय ८२ जना सङ्घीय दरबन्दीमा कार्यरत छन् ।
वनरक्षकका लागि शारीरिक परीक्षण, तन्दुरुस्ती परीक्षा, लिखित परीक्षा र अन्तर्वार्ता लिइनेछ । पहिलो चरणको परीक्षा आगामी २०८२ जेठ १५ बाट सञ्चालन हुनेछ ।