वीरगञ्ज । प्रतिनिधिसभाको आज दिउँसो १ बजे बस्ने बैठकमा विभिन्न अध्यादेशविरुद्ध दर्ता गरिएका विरोध सूचनाहरूलाई एकै पटक निर्णयार्थ प्रस्तुत गर्ने तयारी गरिएको छ । सभामुख देवराज घिमिरेले प्रमुख दलका सचेतकहरूसँग गरेको छलफलपछि यस्तो सहमति जुटेको हो ।
६ वटा अध्यादेशविरुद्ध हालसम्म ५१ वटा विरोध सूचना दर्ता भएका छन् । एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार, प्रत्येक अध्यादेशमाथि छलफल गरिएपछि सबै विरोध सूचनाहरूलाई सामूहिक रूपमा निर्णयार्थ प्रस्तुत गरिनेछ । “५१ वटा सूचनालाई अलग-अलग प्रस्तुत गर्दा समय बढी लाग्ने भएकाले एकै पटक निर्णयार्थ लैजाने सहमति भएको हो,” बर्तौलाले भने ।
उनका अनुसार, सत्तारूढ गठबन्धनसँग बहुमत रहेकोले अध्यादेशहरू सहजै पारित हुने अपेक्षा गरिएको छ । जनता समाजवादी पार्टी (जसपा) पनि सरकारमा रहेकोले अध्यादेशप्रति समर्थन जनाउने विश्वास व्यक्त गरेका छन् ।
सभामुखसँगको छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसद्को पहिलो बैठकमा मर्यादा भङ्ग गरेको विषयमा पनि कुराकानी भएको बर्तौलाले जानकारी दिए ।
काँग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले अध्यादेशप्रति थुप्रै विरोध सूचना दर्ता भएकाले, नियमावलीअनुसार प्रत्येक अध्यादेशका लागि एक प्रस्तावक रहने र विरोध सूचनाकर्ताहरूले आफ्ना धारणा राख्न पाउने बताए । “मन्त्रीहरूले जवाफ दिएपछि निर्णय अध्यादेशका आधारमा हुनेछ, विरोध सूचनाका आधारमा होइन,” घिमिरेले स्पष्ट पारे ।
रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले पनि अध्यादेशहरू सहज ढङ्गले निर्णयार्थ प्रस्तुत गर्ने विषयमा सहमति भएको उल्लेख गरे । उनले बिहीबारको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेताहरूले आफ्ना धारणा राख्ने जानकारी दिए ।
सरकारले पेस गरेका अध्यादेशहरूलाई आजको बैठकमा टुङ्गो लगाउने तयारी संसद्ले गरेको छ ।