वीरगञ्ज । हिन्दु धर्मावलम्बीहरूको सबैभन्दा ठूलो धार्मिक मेला महाकुम्भमा भुटानका राजा जिग्मे खेसर नामग्याल वाङ्चुकले पवित्र स्नान गरेका छन् । सोमबार भारत पुगेका उनले मंगलबार उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँगै प्रयागराजस्थित त्रिवेणी सङ्गममा आस्था व्यक्त गर्दै डुब्की लगाए ।
राजा वाङ्चुक र मुख्यमन्त्री आदित्यनाथ विशेष सुरक्षाका साथ लखनउबाट बमरौली विमानस्थल हुँदै महाकुम्भ क्षेत्र पुगेका थिए । सङ्गम स्नानपछि दुवैले गङ्गा पूजा पनि गरेका थिए । सो पश्चात् उनीहरू लेटे हनुमान मन्दिर र अक्षयवट मन्दिरमा समेत दर्शन गरेका थिए ।
बुधवार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी महाकुम्भ मेलामा सहभागी हुन लागेका छन् । उनको आगमनलाई ध्यानमा राख्दै उत्तर प्रदेश सरकारले सबै तयारी पूरा गरिसकेको मुख्यमन्त्री आदित्यनाथले जानकारी दिए ।
यस वर्षको महाकुम्भमा वसन्त पञ्चमीसहित तीन प्रमुख ‘अमृत स्नान’ सम्पन्न भइसकेका छन्, भने अझै तीन स्नान पर्व बाँकी छन् । लाखौँ श्रद्धालु र साधु-सन्तहरूले गङ्गामा डुब्की लगाउँदै धार्मिक आस्था प्रकट गरिरहेका छन् ।
हिन्दु धर्मग्रन्थहरूमा कुम्भ मेलालाई ‘अमर मेला’ भनेर उल्लेख गरिएको छ । यसलाई पवित्रताको प्रतीक मानिँदै आएको छ, जहाँ विश्वभरका भक्तजनहरू आफ्नो विवेक शुद्ध गर्न तथा आध्यात्मिक शान्ति खोज्न त्रिवेणी सङ्गममा स्नान गर्न आउने गर्छन् ।
महाकुम्भको आकर्षण शाही स्नानमा विशेष रूपमा केन्द्रित हुने गर्छ, जहाँ विभिन्न अखाडाका साधु-सन्तहरूले भव्य रूपमा गङ्गा स्नान गर्ने परम्परा रहँदै आएको छ । धार्मिक र सांस्कृतिक महत्त्वका कारण कुम्भ मेला सधैँ विश्वव्यापी चासोको केन्द्र बन्ने गरेको छ ।