वीरगञ्ज । यु–१९ टी–२० विश्वकपको फाइनल खेलमा भारतीय महिला क्रिकेट टिम, दक्षिण अफ्रिकालाई पराजित गरेर च्याम्पियन बनेको छ । फाइनल खेल भारतीय टिम ९ विकेटले जितेको हो ।
योसँगै भारतले लगातार दोस्रो पटक यु–१९ टी–२० विश्वकप जितेको हो। यसअघि भारतले सने २०२३ को विश्वकप पनि जितेको थियो । दक्षिण अफ्रिकाले पहिले ब्याटिङ गरेर निर्धारित २० ओभरमा ८२ रन बनाएको थियो ।
८३ रनको सामान्य लक्ष्य भारतीय टिमले ११.२ ओभरमा एक विकेटको क्षतिमा पूरा गर्यो । फाइनल खेल मलेसियाको क्वालालाम्पुरमा भएको थियो ।
फाइनल खेलमा दक्षिण अफ्रिकाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो ।
भारतीय टिमका लागि तृषा गोंगाडीले सर्वाधिक ४४ रन बनाएकी थिइन् । त्यस्तै उनले बलिङ गर्दै तीन विकेट पनि लिएका थिइन्। पारुणिक सिसोदिया, आयुषी शुक्ला र वैष्णवी शर्माले २–२ विकेट लिएकी थिइन् ।
भारतले सेमिफाइनलमा इंग्ल्यान्डलाई पराजित गरेर फाइनलका लागि स्थान पक्का गरेको थियो । यो शृङ्खलामा भारतीय टिमले कुनै पनि म्याचमा हार बेहोर्नु परेन ।
भारतका तर्फबाट ओपनर ब्याटर तृषा गोंगाडीले ३३ बलमा अविजित ४४ रनको इनिङ खेलेकी थिइन् । त्यस्तै सनिका चलकेले पनि अविजित २६ रन बनाएकी थिइन् ।
टस जितेर ब्याटिङ रोजेको दक्षिण अफ्रिका ८२ रनमा अलआउट भयो। दक्षिण अफ्रिकाका लागि मिक वान वूसर्टले सर्वाधिक २३ रन बनाइन् । खेलका क्रममा दक्षिण अफ्रिकाको सम्पूर्ण टिम रनका लागि सङ्घर्ष गरेको थियो ।