वीरगञ्ज । सरकारी विद्यालयमा अध्ययनरत जेहेन्दार तथा निम्न आय भएका विद्यार्थीहरूको शैक्षिक विकासका लागि डा. ओम फाउन्डेसन ले छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा मुटुरोग विशेषज्ञ डा ओम मूर्ति अनिल ले देशव्यापी छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए। फाउन्डेसनले यस वर्षका लागि २० लाख रुपैयाँ छात्रवृत्तिका रूपमा प्रदान गर्नेछ। उक्त छात्रवृत्तिको रकम डा ओम मूर्ति अनिलद्वारा लिखित पुस्तक ‘जीवन्त सम्बन्ध’ को बिक्रीबाट प्राप्त आम्दानीबाट व्यवस्था गरिएको हो।
छात्रवृत्तिका लागि माघ १६ देखि फागुन ४ गतेसम्म आवेदन दिन सकिनेछ। कक्षा ६ देखि कक्षा ९ सम्मका सरकारी विद्यालयमा अध्ययनरत, निम्न आय भएका र जेहेन्दार विद्यार्थीहरू आवेदन दिन योग्य हुनेछन्। आवेदनका साथ अघिल्लो कक्षा र चालू शैक्षिक सत्रका ग्रेडसिट, परिचयपत्र, शैक्षिकस्तर प्रमाणपत्र, अभिभावकको आर्थिक अवस्थासम्बन्धी सिफारिस लगायतका कागजात अनिवार्य रूपमा समावेश गर्नुपर्नेछ।
फाउन्डेसनले छात्रवृत्तिका लागि प्रारम्भिक चरणमा आफैँले रकम व्यवस्थापन गरिसकेको छ। आगामी चरणमा इच्छुक व्यक्ति वा संस्थाहरूले फाउन्डेसनमार्फत थप विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न चाहेमा सहजीकरण गरिने बताइएको छ।
छात्रवृत्ति कार्यक्रमले आर्थिक अभावका कारण अध्ययनमा समस्या भोगिरहेका विद्यार्थीहरूलाई प्रत्यक्ष रूपमा सहयोग पुर्याउने फाउन्डेसनको विश्वास छ।