वीरगंज | गहवा माई तीर्थ क्षेत्र विकास समितिको आयोजनामा वीरगंजस्थित गहवा माई मन्दिर प्रांगणमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। शहीद दिवसको अवसरमा आयोजित यस शिविरमा नेपाल नेत्रज्योति संघको विशेष सहयोग रहेको थियो।
यस शिविरमा ५४७ जना बिरामीहरूले विभिन्न स्वास्थ्य परीक्षण र उपचार सेवा प्राप्त गरेका थिए। नेपाल नेत्रज्योति संघको संयोजनमा आँखाको परीक्षण गरिएकामध्ये ५५ जनाको मोतियाबिन्दु शल्यक्रिया (फुल अपरेशन) गरिएको थियो। साथै, स्माइल डेन्टल क्लिनिकका डॉ. भावना कुमारी झा र डॉ. निधि सिंहले दन्त उपचारमा विशेष छुट प्रदान गरेका थिए।
नाक, कान, घाँटीका परीक्षण शान्ति पोलिक्लिनिकका डॉ. दिनेश कुमार साहले गरेका थिए भने ब्लड प्रेसर चेकअप हेल्थ असिस्टेन्ट बिरजू बैठाले गरेका थिए।
शिविरको अध्यक्षता श्री श्याम पोखरेलले गरेका थिए भने उपाध्यक्ष देवानन्द प्रसाद कलवार, सचिव पप्पु गुप्ता र कोषाध्यक्ष रविशंकर अग्रवालको सक्रिय योगदान थियो।
वीरगञ्ज महानगरका नगरप्रमुख राजेशमान सिंह, सुरक्षा अधिकारीहरू, र स्थानीय समुदायको सहयोगले यस शिविरको सफलता सुनिश्चित भएको थियो। यस शिविरले स्थानीय बासिन्दाहरूलाई सुलभ स्वास्थ्य सेवा उपलब्ध गराएर महत्त्वपूर्ण भूमिका निभाएको छ।
शिविरमा वीरगञ्ज महानगरपालिका वडा नं. ६ का वडा अध्यक्ष जय प्रकाश अग्रवाल, पूर्व वडा अध्यक्ष राजकिशोर गुप्ता, हेल्थ असिस्टेन्ट शिवशंकर प्रसाद गुप्ता लगायतका समाजसेवीहरूको पनि महत्वपूर्ण उपस्थिति थियो।