विज्ञानलाईनै चुनाैती ‘कोरोना भाइरस’ : चीनमा २५ काे ज्यान गयाे, नेपालमा बढ्याे सतर्कता
वीरगंज संजाल
१० माघ २०७६, शुक्रबार ११:४८
५३२१
काठमाडाैँ । चीनमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या २५ पुगेको त्यहाँका सञ्चारमाध्यमहरूले जनाएका छन् । कोरोना भाइरसको सङ्क्रमण फैलिने चिन्ता बढ्दै गर्दा चीनको हुबेइ प्रान्तका नगरहरूमा र विशेषगरी यस भाइरसकाे उद्गम थलाे वुहान नगरमा यात्रामाथि प्रतिबन्ध लगाइएकाे छ र अझै कडा बनाइएकाे छ । करिब दुई करोड मानिसलाई बाहिर यात्रा नगर्न निर्देशन दिइएको छ । त्यहाँ बाह्य यातायातका साधन बन्द गरिएकाे छ ।
फोक्सोको गम्भीर प्रकारको रोग निम्त्याएको यो भाइरस सङ्क्रमण विश्वका अन्य देशहरूमा पनि फैलिइसकेको छ । चिनियाँ अधिकारीहरूका अनुसार पछिल्ला सङ्क्रमणहरू यही कोरोना भाइरसका कारण भइरहेका छन् । सन् २००२ मा सार्स भन्ने यस्तै नयाँ प्रकृतिकाे भाइरसको महामारीले चीनमा झन्डै आठ हजार एक सय जनाको मृत्यु भएको थियो ।
अन्य प्राणीबाट मानिसमा सरेको बताइने यो भाइरस एक तीव्र सङ्क्रामक रोग हो । विज्ञानले नै पूरा पहिचान गरिनसकेकाे याे नयाँ प्रकारकाे भाइरस सुरुमा सर्पबाट मानिसमा सरेको बताइन्छ ।
मानिसबाट मानिसमा स्वासप्रस्वासका माध्यमले सजिलै सर्ने यस भाइरसको संक्रमण भएपछि ज्वरो आउँछ । अनि सुख्खा खोकी लाग्छ । केही हप्तापछि सास फेर्न गाह्रो हुन्छ र केही बिरामीलाई अस्पताल लैजाने अवस्था आउँछ । संक्रमण गम्भीर भएमा निमोनिया पनि हुन्छ । साथै सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम हुने तथा मिर्गौलाले काम गर्न छोड्नेसम्म हुन्छ । अनि मानिस मृत्युकाे मुखमा पुग्न बाध्य हुन्छ ।
तर यस भाइरसको चरित्र एकैखालको नभएको विज्ञहरू बताउँछन् । कतिपय अवस्थामा माथिका लक्षण नदेखिएको बिरामीमा पनि यो भाइरस भेटिने गरेको बताइन्छ ।
बिबिसीका अनुसार एडिनबरा विश्वविद्यालयका प्राध्यक मार्क वुलहाउसले अहिले देखिएका बिरामीमा रुघाखोकीको जस्तै लक्षण देखिने र त्यो चाहिँ चिन्ताको विषय भएको बताएका छन् । सङ्क्रमण भएका बिरामीको तुरुन्तै मृत्यु हुँदैन । केही समयपछि मात्रै यो प्राणघातक बन्छ ।
मध्य चीनको वुहान शहरमा गत डिसेम्बरमा पहिलोपटक याे भाइसकाे प्रकाेप देखा परेको थियाे । त्यहाँका मानिहरूमा यसकाे तीव्र संक्रमणा देखिइसकेकाे छ ।
विज्ञहरूले कोरोना भाइरस सङ्क्रमणबाट जोगिन भिडभाड युक्त स्थानमा नजान, साबुनले हात धोइराख्न र बाहिर निस्किँदा मास्क लगाउन सुझाव दिएका छन् । साथै मासु र अण्डा खाँदा राम्ररी पकाउने, जनावरकाे सम्पर्क कम गर्ने सुझाव पनि दिइएकाे छ । ज्वरो र रुघाखोकी लागेमा सावधान रहन र चिकित्सकको परामर्श लिनुपर्ने उनीहरूको सुझाव छ ।
नेपालमा सतर्कता
कोरोना भाइसको हालसम्म उपचार पत्ता लागेको छैन । विज्ञानलाई नै चुनाैती बनेकाे यो भाइरसले चीनमा मात्रै नभई आसपासका अन्य देशमा पनि त्रास फैलिएको छ । अन्य देशहरूमा पनि यसको संक्रमण फैलिइसकेकाले सीमा जोडिएको नेपालले पनि सतर्कता अपनाउन जरुरी देखिएको छ ।
नेपाल भ्रमण वर्ष चलिरहँला चिनियाँ पर्यटक तथा चीन हुँदै आउने अन्य पर्यटकबाट समेत यो रोग नेपालमा सजिलै भित्रिन सक्ने सम्भावना रहन्छ ।
नेपालमा चीनको वुहान शहरबाट आएका एक नेपालीमा यो भाइरसको सङ्क्रमण देखिएको बताइएको छ । नेपालमा यसको परीक्षण गर्ने उपकरण समेत नभउकाले ती व्यक्तिको नमुना परीक्षणका लागि हङकङ पठाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । । ती व्यक्ति अस्पतालबाट डिस्चार्ज भए पनि निगरानीमै रहेको महाशाखाको भनाइ छ ।
विश्व स्वास्थ्य सङ्गठनले समेत यस भाइरसप्रति चिन्ता जाहेर गरेको छ । यसको सङ्क्रमण चीनको लागि सङ्कटकाल भए पनि त्यो बाँकी विश्वका लागि त्यस्तो नभइसकेको तर सतर्कता भने अपनाउनुपर्ने उसको भनाइ छ ।
नेपालमा पनि चीनबाट आउने व्यक्तिमाथि निगरानी बढाइएको महाशाखाले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हेल्थ डेस्कलाई सतर्कता तथा निगरानी बढाउन सक्रिय बनाइएको छ । कुनै यात्रुमा रुघाखोकीलगायत श्वासप्रश्वासको शंकास्पद समस्या देखिएमा तुरून्तै स्वास्थ्य परीक्षण गर्न पठाउन थालेको समेत महाशाखाकाे दाबी छ ।