जयनगर-जनकपुर रेलका लागि २६ जना भारतीय प्राविधिक ल्याइने, मन्त्रिपरिषद्ले दियो स्वीकृति
वीरगंज संजाल
१० माघ २०७६, शुक्रबार ११:४५
५२८५
काठमाडौं | सरकारले निर्माणाधीन जयनगर-जनकपुर रेल सेवा सञ्चालनका लागि २६ जना विदेशी प्राविधिक कर्मचारी ल्याउन स्वीकृति दिएको छ।
मन्त्रीपरिषदको निर्णय सुनाउदै बिहीबार सञ्चारमन्त्री गोकुल बाँस्कोटाले यस्तो जनाएका हुन्। रेल सेवा सञ्चालनका लागि आवश्यक दक्ष श्रमिक नेपालबाट आपूर्ति हुन नसकेमा श्रम ऐन-२०७४ को दफा २२ बमोजिम २६ जनासम्म ल्याउन सकिने भन्दै विदेशी श्रमिक नियुक्ती गर्न नेपाल रेलवे कम्पनीलाई सैद्धान्तिक स्वीकृति दिएको उनले जानकारी दिए।
रेल विभाग तत्कालका लागि भारतबाट दक्ष प्राविधिक ल्याउने तयारीमा छ। नेपाली प्राविधिक सक्षम भएपछि भने उनीहरूलाई फिर्ता पठाइनेछ। नेपालमा तत्कालका लागि रेल चलाउने प्राविधिक छैनन्। त्यसैले केही समयका लागि भारतबाट प्राविधिक ल्याउन लागिएको हो। विभागलाई सरकारी स्वीकृतिले दक्ष कामदार ल्याउने प्रक्रियामा बाटो खुलेको छ।
भारतीय पक्षले कर्मचारी उपलब्ध गराउने प्रस्ताव तीन महिनाअघि विभागमा पठाइसकेको छ भने बाँकी आवश्यक कर्मचारी नेपालमै भर्ना गरिनेछ। विभागले तत्कालै भारतबाट प्राविधिक ल्याउने र नेपालमा कर्मचारी भर्ना गर्ने प्रक्रिया सुरू गर्ने तयारी छ।
पछिल्लो संशोधित तालिकाअनुसार फागुनमा रेल सञ्चालन गर्ने योजना रहेको छ। रेल सञ्चालनका लागि एक सेट ट्रेन चेन्नइस्थित डिब्बा कारखानामा तयार भइसकेको छ। अहिले परीक्षण भइरहेको छ। एक सातामा हिड्ने र हिडेको १५ दिनमा जनकपुर आइपुग्ने विभागका अधिकारीहरुको भनाइ छ।
त्यसैगरि रेलवे ट्रयाकमा बाढीले क्षति पुर्याएको खण्डमा धमाधम मर्मतको काम भइरहेको छ। यो खण्ड पनि एक सातामा तयार हुनेछ। जयनगर-जनकपुर करिब ३५ किमि खण्डमा रेल सञ्चालन गर्न लागिएको हो। आगामी फागुनमा नेपाली भूमिमा रेल सञ्चालन हुने भएको छ। Nepalpostdaily