पर्सा । नेपाल सरकारद्वारा भूमी समस्या समाधान आयोग पर्साको अध्यक्षमा नियुक्त तबरेज अहमदले बिहीबारदेखि औपचारिक रूपमा आफ्नो कार्यभार सम्हालेका छन्।
गत पुस २९ गते सरकारले ७७ वटै जिल्लामा भूमी समस्या समाधान आयोगको अध्यक्षको नियुक्ति गरेको थियो। दुई सातापछि वीरगन्जस्थित आयोगको कार्यालयमा अध्यक्ष अहमदले पदभार ग्रहण गरेका हुन्।
जनता समाजवादी पार्टी (जसपा) का युवा नेता अहमदले यसअघि २०७८ चैत १७ देखि २०८० चैत ८ सम्म पनि आयोगको अध्यक्षको जिम्मेवारी सम्हालिसकेका थिए। पदभार ग्रहणका क्रममा जिल्ला समन्वय समिति पर्साका प्रमुख अजय सर्राफ र प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले उनको सफल कार्यकालको शुभकामना व्यक्त गरे।
पदभार ग्रहण गर्दै अध्यक्ष अहमदले भूमिहीन, दलित, अल्पसंख्यक समुदायका लागि विगतमा थालिएका अधुरा कामहरू पूरा गर्ने प्रतिबद्धता जनाए। उनले पर्सामा विद्यमान भूमि समस्या समाधान गर्दै स्थायी व्यवस्था गर्ने लक्ष्य लिएको बताए।
अध्यक्ष अहमदले साविकका आयोगले गरेका कामहरूको स्मारिका प्रकाशित गर्ने निर्णय समेत गरेको जानकारी दिए। यस अन्तिम आयोगले जिल्लाका सम्पूर्ण भूमिहीनहरूको समस्या समाधान गर्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा नेकपा एमाले पर्साका अध्यक्ष डा. विश्वम्भर शर्मा, जसपा नेता प्रेमबाबु पटेल, पर्साका प्रहरी उपरीक्षक कुमोध ढुंगेल, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, ठोरी गाउँपालिकाकी उपाध्यक्ष गोकुली रेग्मी, नेपाल पत्रकार महासंघ पर्साका सचिव विजय चौहान लगायतका उपस्थिति थियो।