बारा । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ उपाध्यक्ष जितेन्द्र सोनलले बाराको विश्रामपुर गाउँपालिका–५, इंटीयाहीमा आयोजित श्री शिवशक्ति कोटी होम महायज्ञ स्थलको अवलोकन गरेका छन्।
श्री श्री १००८ श्री महाशिवरात्री महामहोत्सव महायज्ञ २०८१ अन्तर्गत नेशनल मेडिकल कलेजको दक्षिणतर्फ आयोजना गरिएको यस महायज्ञमा वरिष्ठ उपाध्यक्ष सोनलसहित स्थानीय नेताहरू र समाजसेवीहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा विश्रामपुर गाउँपालिकाका अध्यक्ष जुबेर अली भुटो, महायज्ञ समितिका अध्यक्ष शंकर यादव, उपाध्यक्ष डोमाई साह सोनार, दीपेन्द्र सर्फ, भोला साह, सुमित यादव, जयकिशोर साह, आमोद यादव, र वडा अध्यक्ष ए. साहलगायतको उपस्थिति थियो।
महायज्ञ प्रचारप्रसार समितिका संयोजक राजकुमार सर्राफका अनुसार यस धार्मिक आयोजनाले धार्मिक तथा सामाजिक सद्भावलाई प्रबर्द्धन गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।
सोनलले महायज्ञस्थलको अवलोकन गर्दै धार्मिक आयोजनाहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए। साथै, उनले महायज्ञ समितिका सदस्यहरूलाई सफल आयोजनाका लागि बधाई दिएका थिए।
श्री शिवशक्ति कोटी होम महायज्ञले धार्मिक, सांस्कृतिक, र सामाजिक मूल्यलाई उजागर गर्दै जनसमुदायलाई एकजुट गर्ने उद्देश्य बोकेको छ। महायज्ञमा स्थानीयहरूको उत्साहजनक उपस्थिति रहेको र कार्यक्रमलाई भव्य बनाउन सबै पक्षको सहयोग रहने बताइएको छ।