खोटाङ । खोटाङको दिक्तेल खानीडाँडा सडक कालोपत्रको काममा ठेकेदार कम्पनी याक्तुहाङ साप सिरुवा जेभीले लापरबाही गरेको पाइएको छ । कम्पनीले दिक्तेल बजारको हस्पिटलचोकदेखि खानीडाँडा विमानस्थलसम्मको सडक कालोपत्र गर्दा मापदण्ड विपरीत गुणस्तरहीन निर्माण सामग्री प्रयोग गरेको स्थानीले बताएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आर्थिक लगानीमा २०७५ मंसिर १ गते निर्माण कम्पनीले उक्त सडक कालोपत्रको काम शुरू गरेको थियो । करीब ११ किलोमिटर सडक कालोपत्र गर्न रू. २१ करोड १ लाख ८८ हजार (भ्याट सहित) खर्चमा ठेक्का लिएको हो ।
उक्त सडकखण्डको कालोपत्रको काममा ढिलाइ भएको र गुणस्तरहीन निर्माण सामग्री प्रयोग गरिएको गुनासो आएपछि प्रदेशसभा सांसद रामकुमार राई, जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबी चाम्लिङ लगायतको टोलीले निर्माणाधीन सडकको स्थलगत अनुगमन गरेका थिए । अनुगमनको क्रममा बालुवा र सिमेन्टको मात्रा नमिलाई पर्खाल निर्माण गरिएको, माटो मिसिएको बालुवा प्रयोग गरिएको, पर्खालको बाहिर बालुवा सिमेन्टको मसला हाले पनि भित्र खोक्रो छाडिएको, सिमेन्ट–बालुवाबाट बनाइएको पर्खाल र ड्रेनलाई पानीले भिजाउने नगरेको लगायत त्रुटि भेटिएको सांसद राईले बताए ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला शाखा खोटाङका कार्यालय प्रमुख घनश्याम उपाध्यायले पुस २८ गते यस विषयमा ठेकेदार कम्पनीसँग छलफल भएको जानकारी दिए । ठेकेदारले कम्पनीले माघदेखि बाँकी काम तीव्र रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे पनि अहिलेसम्म शुरूआत नै नगरेको उनले बताए ।