वीरगञ्ज । पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण देशका तराईका धेरै भूभागमा अहिले हुस्सु र कुहिरो लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ भने अन्य भूभाग सामान्यतया सफा रहेको छ।
तराईमा लागेको हुस्सु र कुहिरोले जनजीवनमा असर पुर्याएको छ। विशेष गरी यातायात, हवाई उडान, कृषि र स्वास्थ्य क्षेत्रमा प्रभाव परेको देखिएको छ।
महाशाखाले आइतबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको उल्लेख गरेको छ। आगामी २४ घण्टाका लागि सतर्कता अपनाउन आग्रह गर्दै महाशाखाले भनेको छ, “तराई तथा उपत्यकाका केही स्थानमा बिहानको समयमा हुस्सु र कुहिरो लाग्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन अनुरोध छ।”
तराईमा देखिएको हुस्सु र कुहिरोको कारण विशेष गरी बिहानको समयमा सवारीसाधन चलाउन कठिनाइ हुने भएकाले सावधानीपूर्वक यात्रा गर्न चालकहरूलाई अनुरोध गरिएको छ। कुहिरोका कारण दृष्य देख्न कठिन भएको हुँदा जनताले सतर्कता अपनाउनुपर्ने आवश्यकता छ।
देशका पहाडी क्षेत्रमा हल्का हिमपातको सम्भावनाले चिसो बढ्ने अनुमान छ। महाशाखाले चिसोबाट बच्न न्यानो कपडा लगाउन र विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा बिरामीहरूलाई सुरक्षित राख्न आग्रह गरेको छ।