वीरगञ्ज । पर्साको जीराभवानी गाउँपालिका–५, शंकरसरैयामा मङ्गलवार राति भएको आगलागीमा एक किसानको घर गोठ पूर्ण रूपमा जलेर नष्ट भएको छ । घटनामा दर्जनौँ खसीबाख्रासहित २० भन्दा बढी पशुचौपायाको जलेर मृत्यु भएको छ ।
आगो ताप्न बालिएको घुरबाट आगो सल्किएर आगलागी भएको अनुमान गरिएको छ । आगलागीका कारण लाल बहादुर दास थारुको घरसँगै रहेको गोठ पूर्ण रूपमा नष्ट भएको नेकपा माओवादी केन्द्र जीराभवानी गाउँपालिकाका अध्यक्ष रामाकान्त प्रसाद चौधरीले जानकारी दिए ।
आगलागी राति करिब १ बजे सुरु भएको र स्थानीयहरूले नियन्त्रणमा लिन प्रयास गरे पनि ठुलो क्षति हुनबाट जोगाउन नसकिएको बताइएको छ ।
घर र गोठ जलेपछि किसान थारुको ठुलो नोक्सानी भएको छ । यद्यपि, आगलागीबाट भएको कुल क्षतिको यकिन विवरण भने आउन बाँकी रहेको स्थानीय तथा जनप्रतिनिधि चौधरीले जानकारी दिएका छन् ।
घटनाले जाडोयाममा आगो ताप्दा सतर्कता अपनाउनुपर्ने आवश्यकता औँल्याएको छ ।