वीरगञ्ज। आम जनता पार्टीले वीरगञ्जको बीपी उद्यानमा भ्रष्टाचारविरुद्ध खबरदारी सभा आयोजना गर्दै सरकारलाई कडा चेतावनी दिएको छ। सभामा पार्टी अध्यक्ष प्रभु साहले वीरगञ्जलाई आर्थिक राजधानी बनाउनुपर्ने माग राख्दै सरकारप्रति आक्रोश व्यक्त गरे।
साहले भने, “काठमाडौँ प्रशासनिक राजधानी र पोखरा पर्यटकीय राजधानी भएको छ। तर वीरगञ्जलाई आर्थिक राजधानी नबनाए यहाँका जनता चुप लाग्ने छैनन्।” उनले नारायणी अस्पताललाई मेडिकल कलेजमा रूपान्तरण गर्न सरकारलाई आग्रह गर्दै भने, “जनताले राजालाई दरबारबाट हटाउन सक्छन् भने नेतालाई कुर्सीबाट हटाउन पछि पर्दैनन्।”
साहले वर्तमान कर प्रणालीको आलोचना गर्दै सरकार गरिब र व्यवसायीमाथि करको बोझ थोपर्दै विकासमा बेवास्ता गरिरहेको आरोप लगाए। “भारत र चीनभन्दा चार गुणा बढी कर लिने हो भने विकास पनि चार गुणा बढी हुनुपर्छ,” उनले भने।
मधेश प्रदेशलाई बजेटमा विभेद गरिएको आरोप लगाउँदै साहले भने, “मधेशले राजस्व बढी दिन्छ तर बजेट कम पाउँछ। यो अन्याय अब सहन सकिँदैन।”
उनले आफ्नो साढे पाँच महिनाको मन्त्रालय कार्यकालमा ठूला विकास योजनाहरू अघि बढाएको दाबी गरे। “७ हजार ४ सय करोडका ठेक्काहरू, १५ हजार छात्रालाई साइकल र २८ हजार जनालाई ग्यास सिलिन्डर वितरण मेरो पहलमा भएको हो,” साहले बताए।
सभामा साहले सरकारको करको दुरुपयोग र जनताका समस्याहरूमा ध्यान नदिएकोमा कडा आलोचना गर्दै भने, “यदि जनताको आवाज दबाउने प्रयास भयो भने आन्दोलन थप कडा हुनेछ।”
सभाले भ्रष्टाचारविरुद्ध दबाब सिर्जना गर्दै वीरगञ्जलाई आर्थिक राजधानी बनाउनुपर्ने मागलाई बलियो बनाएको छ।