सन् २००१ मा अमेरिका बसाइँ सरेपछि, युएस पोस्टल सर्विस (‘युएसपीएस’)को माध्यमबाट अपार्टमेन्टको मेल बक्समा आफ्नो नाम सहितको म्यागाजिन(पत्रिका)जस्तो विज्ञापनको किताब देखें; अचम्म लाग्यो, होइन यिनीहरूले कसरी मेरो नाम छापेर यस्तो पठाएछन् हँ ?
भर्खर नेपालबाट गएको, नेपालमा त्यस्ता खालका विज्ञापनका ढाँचा र चलन नदेखेको, बन्द समाजको उत्पादन, हामी जस्तालाई त्यो अचम्मै लाग्ने कुरो नै थियो होला ! बस्दै गएपछि थाहा भयो, त्यहाँका खाद्यान्न स्टोरदेखि, फ्यान्सी डिपार्टमेन्टल स्टोरसम्मले हुलाक मार्फत सजिलै ग्राहक तान्न सक्दथे।
उदाहरणको लागि, कुनै स्टोरले सेल (अरू बेला तोकिएको मूल्यभन्दा कममा सामान बेच्ने प्रक्रिया)लागेको जानकारी स-सानो ब्रोसियर वा कुपन पठाएर दिने, ‘यतिको सामान किन्यो भने, यति प्रतिशत वा यति रकमको सामान सित्तैंमा पाइने’ भन्ने विज्ञापन आदि–आदिले, एकातिर स्टोरहरूको व्यापार बढाउँथ्यो भने, अर्कोतिर हुलाकको आम्दानी पनि बढाउँथ्यो।
आफ्नै अनुभवको आधारमा पनि, त्यसले गर्दा कुपनको लोभले चाहिनेभन्दा बढी सामान किनेर थुपार्ने बानी समेत लगाउँथ्यो। तर, त्यो भनेको व्यक्तिगत कमजोरी थियो; सत्य भन्नुपर्दा युएसपीएस ज्यादै भरपर्दो र दैनिकी सजिलो बनाउने माध्यम थियो।
दैनिकी यस हिसाबले सजिलो हुन्थ्यो कि– पानी, बत्ती, फोन, बच्चाहरू पढ्ने स्कूलको अतिरिक्त खर्च (फी तिर्न पर्दैनथ्यो, त्यो बाहेकका शुल्क), हरेक वर्ष तिर्नुपर्ने सम्पत्ति कर, आयकर… यावत् शुल्कहरू तिर्न घरबाट कतै धाउनु पर्दैनथ्यो। अझ रमाइलो कुरा त के भने, कुनै दिन त्यस्ता शुल्कहरू तिर्ने अन्तिम दिन हुन्थ्यो भने, त्यो दिनको राति बाह्र बजेसम्म युएसपीएसको छाप, शुल्क तिर्न मेल गरेको खाममा लागिसकेपछि, शुल्क तिर्ने कार्यालयसम्म नपुगे पनि जरिवाना तिर्नु पर्दैनथ्यो।
कतिपय स्थानहरूमा युएसपीएसको सेवा रातिको बाह्र बजेसम्म पनि सञ्चालन गरिन्थ्यो, विशेष गरी वार्षिक कर बुझाउने समयमा यो सुविधा धेरै ठाउँमा प्रदान गरिन्थ्योः सायद, अहिले पनि गरिन्छ। वार्षिक रूपमा कर तिर्ने अन्तिम दिन हरेक वर्षको अप्रिल १५ लाई तोकिएको हुन्छ; त्यो दिन, ग्राहकहरूलाई सहज होस् भनेर राति १२ बजेसम्म ठाउँठाउँमा हुलाक कार्यालय खोल्ने जानकारी समेत सार्वजनिक सञ्चारमाध्यम लगायत विभिन्न स्थानहरूमा सूचना टाँसेर पनि गराइन्छ।
यसरी सेवा दिन खोलिएको हुलाक कार्यालयमा जागिर खान भने अमेरिकी नागरिक नै हुनुपर्ने व्यवस्था थियो; ग्रिनकार्ड भएकाहरूले पाइन्नथ्यो।
अमेरिकी हुलाकको इतिहासमा बच्चालाई हुलाक टिकट तिरेर मेल गर्ने चलन सन् १९१५ को अगस्तसम्म भेटिएको रहेछ। उक्त वर्ष तीन वर्षकी माउद स्मिथलाई उनका हजुरबा/आमाले, उनकी बिरामी आमा भएको राज्य केन्टकीमा पठाएको रेकर्ड रहेछ। त्यसपछि पनि, अमेरिकीहरूले बच्चा मेल गर्ने चलन यथावत् राख्न खोजेका रहेछन् ।
जुन बेला, यो पंक्त्तिकारले अनुभव गरेको विवरण लेख्दैछु, त्यतिबेलासम्म फोनबाट पैसा तिर्न मिल्ने कारोबार भैसकेको याद छैन। यसरी नियमित रूपमा सेवा शुल्क तिर्ने कार्यालयहरूले, आफ्नै तर्फबाट खाम सहितको महिनामा तिर्नुपर्ने शुल्कको जानकारी पठाउँथे। ग्राहकको काम त तोकिएको दरको हुलाक टिकट टाँसेर पोस्ट बक्समा खसालिदिनु मात्रै हुन्थ्यो।
युएसपीएसबाट ठूला/साना पार्सलहरू पठाउन सकिन्थ्यो। त्यसको लागि सामानको तौल अनुसार पैसा तिर्नुपर्थ्यो। त्यसरी तिर्ने शुल्कमा एकरूपता हुन्थ्यो, कुनै कार्यालयले घटीबढी लिने सवाल नै उठ्दैनथ्यो। यी सबै कुराहरू आफ्नो अनुभव हो; अहिले कस्तो छ थाहा छैन।
एकपटक एकदमै रमाइलो घटना घटेको छ। मेरो फुपूको एउटा छोरी सिकागो बस्नुहुन्छ; उहाँले सेल पकाएर, मुलाको खाँदेको अचारको साथमा फुरुन्दाना समेत युएसपीएसबाट मेल गरेर पठाइदिनुभएछ। यो, २०६८ साल साउन ७ गतेको कुरा हो। त्यसरी पठाउँदा, मुलाको अचारको तेल चुहिएछ। हामीले ‘हुलाकी’ भन्ने पदलाई उनीहरूले ‘मेल क्यारियर’ भन्छन्; उनले, त्यो तेल चुहिएको कार्टुनको पार्सललाई मेल हाल्ने ट्रे समेत मेरो घरको ढोकामा छाडेर गएछन्। सायद, त्यो मुलाको अचारको गन्ध सुँघ्दा, त्यो गन्धको कारणले सबै मेल किन दूषित बनाउनु भन्ने सोच आयो होला ! काँचो मुलाको ‘स्यालाड’ (हाम्रो जनजिब्रोमा सलाद)बाहेक विरलै खाएको अमेरिकनलाई मुलाको अचारको स्वाद के थाहा ! तर पनि, त्यो पार्सल फ्याँकिइएन; किनकि, उनीहरूको सेवा अत्यन्तै भरपर्दो हुनेगर्थ्यो।
हुनत, त्यतिबेला नेपालमा पनि पोस्ट बक्सको चलन थियो। सुन्धारास्थित हुलाक कार्यालयमा स-साना (अहिलेको बैंकको लकर जस्तो) बाकसहरू हुन्थे; जसको साँचो आफूसँग राखिन्थ्यो र आफ्नो चिठ्ठीपत्र आउने समय विचार गरेर लिन पुगिन्थ्यो। ठाउँ–ठाउँमा चिठ्ठी पठाउन, रातो/नीलो रङको, टिनको मन्दिरको जस्तो छानो भएको, चिठ्ठी खसाल्न मात्र मिल्ने प्वाल राखेको सानो घर (बाकस भन्न मिल्ने आकृति त होइन) हुन्थे। जुन कुरा ‘जेन जी’ र ‘जेन अल्फा’ पुस्ताले विरलै देखे होलान्।
हाम्रो पुस्तासम्मकाले यदि ठूलो पार्सल पठाउनुपर्यो भने, सुन्धाराको हुलाक कार्यालय नै जानुपर्थ्यो। विदेशबाट आउने ठूला पार्सल लिन पनि त्यहीं धाउनुपर्थ्यो, कतिपय समयमा उताबाट आएका पार्सलहरू खोलिएको भेटिने, सामान निकालिएको हुने त सामान्य थिए। यदि त्यस्तो फेलापरेमा उजुरबाजुर गरेर न्याय मिल्ने सम्भावना क्षीण थियो। यो आरोप होइन, अनुभव हो। आफैंले पनि, पार्सल खोलिएको भेटेको, त्यसभित्रको सामान हराएको र उपल्लो निकायसम्म पुग्दा पनि नभेटेको तथ्य कहाँ बिर्सन सकिन्छ र ? त्यस्तो समयमा अमेरिकाको हुलाक व्यवस्था त कति भरपर्दो थियो भनेर बयान गर्नै परेन।
नेपालमा हुलाक संरचनाको सोच र सुरुआत त विसं १९३५ मै भएको देखिन्छ; त्यो भनेको आजभन्दा १४६ वर्ष अगाडिको कुरा हो। त्यो सुरु गर्दा, ‘नेपाल हुलाक घर’ नामबाट सुरु गरिएको थियो। नेपालले मिति राखेर हुलाकको छाप प्रयोग गर्न सुरु गरेको १९३७ साल र पहिलो हुलाक टिकट प्रकाशित भएको १९३८ सालमा रहेछ।
त्यसपछि, नेपाल र भारतमा चिठीपत्रको आदानप्रदान नेपाल अंग्रेज युद्धको समयमा भएको तथ्य लेखक तथा पत्रकार मोहन मैनालीको मदन पुरस्कार प्राप्त कृति ‘मुकाम रणमैदानः नेपाल अंग्रेज युद्धको बखान’मा पढ्न पाइन्छ। विसं २०८० को मदन पुरस्कार प्राप्त उक्त पुस्तकमा १८७१-७२ को नेपाल – अंग्रेज युद्धमा युद्धसँग सम्बन्धित व्यक्तिहरूले लेखेका चिठीका वृत्तान्तहरू समेटेर लेखिएको छ; जसले, त्यतिबेलाको युद्धकालीन इतिहासलाई उजागर गरेको छ। यसको मतलब, चिठीको ओसारपसार गर्ने माध्यम, ‘हुलाक व्यवस्था’ कति महत्वपूर्ण थियो भन्ने कुरा यसले पनि प्रमाणित गर्दछ।
अहिले पनि नेपालमा विभिन्न तहमा ९९१ वटा हुलाक कार्यालय र हुलाक कार्यालयमा काम गर्ने १७ हजारभन्दा बढी कर्मचारीको दरबन्दी रहेको कुरा केही समय अगाडि सञ्चारमाध्यमहरूमा आएको थियो।
कहिलेकाहीं लाग्छ, त्यति ठूलो निकायबाट व्यवस्थित रूपमा पानी, बिजुली, फोन इत्यादिको महिनावारी शुल्क तिर्ने निकाय बनाउने पहल किन गर्न सकिएन होला ? अहिले पनि बत्ती, धारा, फोनको पैसा तिर्न तत्-तत् निकायको कार्यालय नै धाएर घन्टौं समय खेर फाल्नुपर्ने किन होला ?
हुनत जवाफ आउला, फोन-पे र ई-सेवा जस्तो माध्यमबाट समय जोगाउन सकिन्छ; तर, नेपालका शतप्रतिशत जनसंख्याको उक्त सेवाहरूमा पहुँच छ त ? अनि कतिपय सेवामा लाग्ने अतिरिक्त शुल्क फेरि किन तिर्नुपर्ने ?
अझै पनि नेपालमा हुलाक सेवाको विस्तार गर्ने सम्भावनाहरू धेरै छन्; चाहिएको त विश्वसनीयता मात्रै हो।
विश्व परिवेशको कुरा गर्ने हो भने, अन्तर्राष्ट्रिय हुलाक संघको सुरुआत नै सन् १८७४ मा जापानको टोकियोबाट भएको रहेछ। त्यसैको सम्झना कायम राख्न सन् १९६९ बाट ‘विश्व हुलाक दिवस’ मनाउन थालिएछ।
नेपालमा पनि हरेक वर्ष असोज महिनामा ‘अन्तर्राष्ट्रिय हुलाक दिवस’ मनाइन्छ। यो दिवस नेपालले सन् १९७६ देखि मनाउन थालेको हो।
हुलाकबारे विना सन्दर्भ यति धेरै कुरा किन लेखेको भन्ने प्रश्न पनि उठ्ला। यसबारे चासो राखेको कारणचाहिं एउटा अपत्यारिलो कुरा पढ्न पुगेर नै हो। सन् १९१३ मा अमेरिकामा सुरु भएको हुलाक सेवाले १९१३ देखि १९१५ सम्म स-साना बच्चाहरू पनि डेलिभरी गरेको रहेछ ! यसको सुरु अमेरिकाको ओहायो राज्यबाट भएको रहेछ। त्यो पनि सानो दूरीको लागि होइन कि, लामो दूरीमा बच्चाहरू हुलाक सेवा मार्फत पठाइने रहेछन्। त्यसको कारणचाहिं, प्यासेन्जर ट्रेनको टिकट किनेर बच्चाहरूलाई एक ठाउँबाट अर्का ठाउँमा पठाउनुभन्दा, हुलाक टिकट किनेर रेलवे मेलबाट पठाउन सस्तो पर्ने रहेछ।
अमेरिकी हुलाक सेवाको त्यतिबेलाको इतिहास खोज्ने हो भने, सन् १९१३ जनवरीमा ओहायो राज्यको जेस्सी बोज अफ ग्लेन एस्तेको श्रीमान्/श्रीमतीले आफ्नो सानो छोरालाई ग्रामीण इलाकामा हुने निःशुल्क डेलिभरीको सेवा मार्फत बच्चाको हजुरआमाकहाँ पठाएका रहेछन् ! त्यो कुरा हामी आजको दिनमा कल्पना गर्न सक्छौं त ? तर, यसलाई यसरी पनि हेर्न सकिन्छ, मानिसले त्यसरी मेल पठाउने माध्यमलाई कति धेरै विश्वास गर्नेरहेछन् ! त्यो समयमा बच्चा पठाउने अभिभावकहरूले, बच्चा पठाउन १५ सेन्टको स्ट्याम्प तिरेर ५० डलरको बीमा गरेका रहेछन्। अहिले पनि, अमेरिकी हुलाक मार्फत केही मूल्यवान् वस्तु पठाउनु छ भने बीमा गर्न सकिन्छ।
त्यसरी हुलाक मार्फत बच्चा डेलिभरी गरेको अर्को उदाहरण सन् १९१४ फेब्रुअरी १९ को रहेछ। त्यो दिन, आइदाहो राज्यको ग्र्यान्जभिल भन्ने ठाउँबाट मे पियर्सटर्फ नामको पाँच वर्षको बच्चीको अभिभावकहरूले, पियर्सटर्फलाई ७३ माइल उनको हजुरबा/आमाको घर पठाएछन्। उनलाई रेलवे मेल गर्दा उनले लगाएको कोटमा ५३ सेन्टको स्ट्याम्प टाँसेर रेलवे मेल ट्रेनको हुलाक कर्मचारीलाई बुझाएछन्। उनलाई सकुशल उनको तोकिएको स्थानमा पुर्याइसकेपछि, उनकै एक जना नातेदार, पोस्टमास्टर जनरल अल्बर्ट एस. बर्लसनले उनको कुरा थाहा पाएछन्। त्यसपछि, उनले अबदेखि हुलाक कर्मचारीहरूले मानवहरूलाई त्यसरी मेल गर्नबाट रोक लगाएछन्।
त्यसको वाबजुद, सोही वर्ष नै फ्लोरिडा राज्यकी एक महिलाले आफ्नी ६ वर्षकी छोरीलाई, १५ सेन्टको टिकट तिरेर ७२० माइल टाढा भर्जिनिया राज्यमा मेल गरेकी रहिछन्।
अमेरिकी हुलाकको इतिहासमा बच्चालाई हुलाक टिकट तिरेर मेल गर्ने चलन सन् १९१५ को अगस्तसम्म भेटिएको रहेछ। उक्त वर्ष तीन वर्षकी माउद स्मिथलाई उनका हजुरबा/आमाले, उनकी बिरामी आमा भएको राज्य केन्टकीमा पठाएको रेकर्ड रहेछ। त्यसपछि पनि, अमेरिकीहरूले बच्चा मेल गर्ने चलन यथावत् राख्न खोजेका रहेछन्; तर, पोस्मास्टर (हुलाकका कर्मचारी)हरूले बच्चाहरूलाई ‘हार्मलेस लाइव एनिमल'(हानि नपुर्याउने जिउँदा जनावर)को क्याटागोरीमा राखेर मेल गर्न मानेनछन्।
हुनत, युनाइटेड एयरलायन्सले ५० डलर टिकट बाहेकको अतिरिक्त खर्च लिएर, नाबालिगहरूलाई, एक स्थानबाट अर्को स्थानमा उडाएर पुर्याउने गरेको त सन् २०१५ सम्म आफ्नै आँखाले देखेको हो। उडाएर पठाउँदा रेलवे मेल जस्तो सस्तो पक्कै हुँदैनथ्यो; तर यस्तो सेवाहरू भनेको व्यवस्थामा विश्वासको कारणले पनि चल्ने हो। जबकि, हाम्रो देशमा, एउटा पार्सल पनि सुरक्षित र नहराइकन आउने हो कि होइन भनेर मन ढुकढुक गर्दै बस्नुपर्थ्यो। हुलाकको सुरुआतकै कुरा गर्दै नेपालमा अमेरिका भन्दा अगाडि नै हुलाक सेवाको सुरुआत भएको हो।
बिट मार्दै गर्दा यति मात्रै लेख्न मन छ, अझै पनि नेपालमा हुलाक सेवाको विस्तार गर्ने सम्भावनाहरू धेरै छन्; चाहिएको त विश्वसनीयता मात्रै हो।