वीरगंज । सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने कास्की जिल्ला अदालतको आदेशमा बिहीबार धरौटीमा रिहा भएका छन्। रू ६५ लाख धरौटी बुझाएर लामिछाने कास्की प्रहरीको हिरासतबाट रिहा भएका हुन्।
अदालतबाट रिहाइपछि लामिछानेलाई परिवारको जिम्मा लगाइएको छ। पोखराको फिस्टेल अस्पतालमा स्वास्थ्य परीक्षणपछि उनलाई छाडिएको हो। लामिछानेसँगै उक्त मुद्दाका छ जना प्रतिवादी पनि धरौटीमा रिहा भएका छन्।
न्यायाधीश नीतिज राईको इजलासले छविलाल जोशीलाई रू ८८ लाख, लीला पछाईँलाई रू ३७ लाख, रामबहादुर खनाललाई रू १५ लाख, आरती गुरूङ र मीना गुरूङलाई रू पाँच–पाँच लाख, र कृष्णबहादुर गुरूङलाई रू एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो। तर, लीला पछाईँ धरौटी बुझाउन नसक्दा हिरासतमै रहेका छन्।
लामिछानेविरुद्ध काठमाडौँमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले उनी आज काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुने राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।
जिल्ला सरकारी वकिलको कार्यालयले पुस ७ गते सूर्यदर्शन सहकारीको रकम अपचलन आरोपमा लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। यस प्रकरणमा हालसम्म ६३ जनाविरुद्ध मुद्दा दायर भएको श्रेस्तेदार राजन खनालले बताए।
धरौटीमा रिहा भएका प्रतिवादीहरूको मुद्दामा थप अनुसन्धान भइरहेको अदालतले जनाएको छ।