विराटनगर। पूर्व-पश्चिम राजमार्गको मोरङको सुन्दरहरैँचा नगरपालिका– ७ मालती पुल नजिकै फेला परेको बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ।
राजमार्ग बिस्तार गर्ने क्रममा द्वन्द्वकालीन बम राखेको सूचना आएपछि नेपाली सेना र प्रहरीको टोलीले खोजी सुरु गरेको थियो। मालती पुल पश्चिम पट्टी सुरुङ खनेर राखेको बम सेनाले डिस्पोज गरेको हो ।
माओवादी केन्द्रका नेताहरुका अनुसार २०६० साल भदौमा माओवादी र सरकारपक्षबीच बेलबारीमा भिडन्त हुँदा सेनालाई रोक्न सो खण्डमा सुरुङ खनेर एम्बुस राखेको थियो ।
राजमार्ग विस्तारका क्रममा विष्फोट हुनसक्ने भन्दै माओवादीका नेताहरुले नै जिल्ला प्रशासन कार्यालयमा द्वन्द्वकालको बम रहेको सूचना दिएका थिए।
बिहीबार बिहान करिब ८ बजेदेखि खोजी सुरु गरेको सेनाको टोलीले दिउँसो सडक मुनी गाडिएको अवस्थामा चार वटा सिलिन्डर फेला परेको थियो। जसमा दुई सिलिन्डरमा बम थियो, दुई वटामा ग्यास मात्रै थियो।
विस्फोटक पदार्थ भरिएको २ वटा सिलिन्डर बम भने सेनाको टोलीले डिस्पोज गरेको थियो ।ग्यास भरिएका २ वटा सिलिन्डर थप अध्ययनका लागि नेपाली सेनाको टोलीले लगेको प्रहरीले बताएको छ।
मोरङ प्रहरी प्रवक्ता वेदप्रकाश जोशीले द्वन्द्वकालमै राखेको बम सेनाको टोलीले डिस्पोज गरेको जानकारी दिए। बिहान ८ बजेबाट अवरुद्ध भएको सडक बम डिस्पोजपछि साँझ ५:३० बजेबाट सुचारु भएको थियो ।