वीरगञ्ज । सशस्त्र प्रहरी बल, पर्साअन्तर्गत सीमा सुरक्षा गुल्मले करिब पाँच लाख रुपैयाँ बराबरका भन्सार छलिएका कपडाहरू बरामद गरेको छ ।
सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) लोकेन्द्र सुब्बाको नेतृत्वमा सशस्त्र टोलीले वीरगञ्ज महानगरपालिका महावीर मन्दिर रोडस्थित एक गोदाममा छापा मारी गर्दै उक्त परिणामको सामग्रीहरू बरामद गरेको हो ।
गोप्य सूचनाको आधारमा गरिएको छापामारीबाट ठुलो परिमाणमा विभिन्न प्रकारका कपडाहरू बरामद गरिएको छ ।
सशस्त्र प्रहरीका अनुसार बरामद कपडाहरूको सम्बन्धमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ । यस कारबाहीले भन्सार छल्ने कार्यमा संलग्नलाई कानुनी दायरामा ल्याउने उद्देश्यलाई बल पुगेको छ।
सशस्त्र प्रहरी बलले यस्ता क्रियाकलापविरुद्ध आफ्नो निगरानीलाई अझ कडा बनाउँदै जाने प्रतिबद्धता जनाएको छ ।