वीरगंज । सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा निर्माणाधीन लम्की चुहा सहलगानी आयोजनाको संघीय सरकारका खानेपानी मन्त्री प्रदीप यादवले निरीक्षण तथा अनुगमन गरेका छन्।
आयोजनाको प्रगतिबारे जानकारी लिँदै मन्त्री यादवले निर्माण व्यवसायीलाई तोकिएको समयमा काम सम्पन्न गर्न निर्देशन दिएका छन्। यो आयोजना सम्पन्न भएपछि करिब १५ हजार स्थानीय बासिन्दाले शुद्ध खानेपानी प्राप्त गर्नेछन्।
खानेपानी मन्त्री यादवले नागरिकका समस्याहरू समाधान गर्न देशभरका विभिन्न दुर्गम क्षेत्रहरूको भ्रमण गरिरहेका छन्। स्थानीय बासिन्दासँग प्रत्यक्ष छलफल गर्दै समस्याको समाधानका लागि प्रभावकारी कदम चालिरहेको उनले जानकारी दिए।
मन्त्री यादवले शुद्ध खानेपानी नागरिकको आधारभूत अधिकार भएको भन्दै यसलाई सुनिश्चित गर्न सरकार प्रतिवद्ध रहेको बताए। उनले भने, “देशका प्रत्येक नागरिकलाई स्वच्छ र सुरक्षित पानी पिउन पाउने व्यवस्था गर्न मेरो प्रमुख लक्ष्य हो।”
निरीक्षणका क्रममा उनले निर्माण कार्य गुणस्तरीय बनाउन र समयमै सम्पन्न गर्न विशेष जोड दिएका छन्। ढिलाइ नगरी समयसीमाभित्र आयोजना सम्पन्न गर्न निर्देशन दिँदै मन्त्री यादवले कामको प्रभावकारीता सुनिश्चित गर्न आग्रह गरेका छन्।
लम्की चुहा सहलगानी आयोजनाको सफल कार्यान्वयनले कैलालीका नागरिकको जीवनस्तरमा सुधार ल्याउने विश्वास व्यक्त गरिएको छ। यसले खानेपानीसम्बन्धी समस्या समाधान गर्दै दीर्घकालीन रूपमा स्थानीय बासिन्दालाई राहत दिने अपेक्षा गरिएको छ।