वीरगन्ज। वीरगन्ज महानगरपालिकामा आजदेखि तेस्रो संस्करणको श्री शंकरलाल केडिया मेमोरियल अन्तर विद्यालय फुटबल प्रतियोगिता सुरु भएको छ। प्रतियोगिता डीएभी रुकमिणी बनारसी केडिया स्कुलमा आयोजना गरिएको हो।
डीएभी स्कुलका संस्थापक स्व. शंकरलाल केडियाको ८९औं जन्मजयन्तीको अवसरमा प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगिता १३ पुषसम्म सञ्चालन हुने कुरा डीएभी स्कुलका प्रधानाध्यापक राकेश मिश्रले जनाएका छन्। उनले भने, “खेलकुदको क्षेत्रलाई प्रोत्साहन र विद्यार्थीहरूको शारीरिक विकासका लागि यस प्रतियोगिताको आयोजना गरिएको हो।”
प्रतियोगितामा वीरगन्ज महानगरका १२ वटा विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको छ। यी विद्यालयहरूमा डीएभी स्कुल, ज्ञानदा, साउथ जोन, मनकामना, कादम्बरी, दिल्ली पब्लिक स्कुल, मुन लाइट, जीवन ज्योती, लिटिल क्लावर, मालिनी, मेरी गोल्ड र काभेरी एकेडेमी रहेका छन्। प्रतियोगितामा कक्षा १० सम्मका विद्यार्थीहरूले प्रतिस्पर्धा गर्दै छन्।
प्रतियोगिता एक औपचारिक कार्यक्रम मार्फत उद्घाटन गरिएको थियो। पर्साका सिडिओ अर्यालले दीप प्रज्वलन गरेर प्रतियोगिता उद्घाटन गरे। कार्यक्रमका अन्य प्रमुख अतिथि डा. विजय अग्रवाल, सुनिल केडिया, सन्दिप केडिया, सौरभ केडिया, दिनेश बंका, तथा प्याब्सन जिल्ला कार्यसमिति पर्साका अध्यक्ष पुरन प्रधान र अन्य व्यक्तिहरूको उपस्थिति रहेको थियो।
आजको उद्घाटन खेलमा मनकामना माविले डीएभी स्कुललाई २-० ले पराजित गर्दै विजयी हाँसिल गर्यो। मनकामना माविका जर्सी नम्बर १२ का खेलाडी हिमेश चौधरी म्यान अफ दि म्याच घोषित भए।
प्रतियोगितामा आगामी दिनहरूमा अन्य विद्यालयहरू बीच कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ। खेलको समापन पछि उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थी र विद्यालयलाई विभिन्न पुरस्कार र प्रमाणपत्र प्रदान गरिने आयोजकहरूले जानकारी दिएका छन्।
यो प्रतियोगिता विद्यार्थीहरूमा खेलकुदको महत्त्व र समर्पणको भावना जगाउन महत्वपूर्ण भूमिका निभाउने विश्वास गरिएको छ। यस प्रकारका खेलकुद कार्यक्रमले विद्यार्थीहरूलाई केवल शारीरिक मात्र होइन, मानसिक र सामाजिक रूपमा पनि सशक्त बनाउन मद्दत पुर्याउँछन्।
आयोजकहरूको अनुसार, यस प्रतियोगिताले खेलकुद क्षेत्रमा नयाँ प्रतिभाहरूको पहिचान गर्न र विभिन्न विद्यालयहरू बीचको मित्रता र सहकार्यलाई बढावा दिन मद्दत गर्नेछ। प्रतियोगिता आगामी दिनहरूमा थप रोमाञ्चक हुने विश्वास व्यक्त गरिएको छ।