वीरगञ्ज| दक्षिण एसियाको पहिलो ऐतिहासिक ‘चुरियामाई सुरुङ’ हेटौँडा उपमहानगरपालिका–१५ मा आजदेखि सर्वसाधारणका लागि खुला गरिएको छ। प्रदेश सरकारको लगानीमा जीर्णोद्धारपछि यो सुरुङ मार्ग आज एक विशेष कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरिएको हो।
कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा, प्रदेश मन्त्री र अन्य जनप्रतिनिधिहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ। हेटौँडा उपमहानगरका प्रवक्ता सविन न्यौपानेका अनुसार आज दिउँसो १ बजे सुरुङको औपचारिक उद्घाटन हुनेछ।
सुरुङको व्यवस्थित अवलोकनका लागि प्रवेश शुल्क पनि तोकिएको छ। नेपाली नागरिकका लागि ५० रुपैयाँ, विदेशी पर्यटकका लागि १२० रुपैयाँ र ५ वर्षमुनिका बालबालिका, अपाङ्गता भएका व्यक्ति र जेष्ठ नागरिकका लागि निःशुल्क प्रवेश व्यवस्था गरिएको छ। विद्यार्थीहरूको लागि २० रुपैयाँ शुल्क तोकिएको छ।
‘चुरियामाई सुरुङ’ ऐतिहासिक महत्त्व राख्ने यो सुरुङ सन् १९१७ मा तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरको पालामा नेपालका पहिलो ग्राजुएट इन्जिनियर डिल्लीजंग थापाको नेतृत्वमा निर्माण गरिएको थियो। यसको लम्बाइ ७०० मिटर, चौडाइ ९ फिट र उचाइ १० फिट छ।
जीर्णोद्धारको क्रममा सुरुङमा विद्युतीय बत्ती जडान गरिएको छ र दुवै प्रवेशद्वारलाई सुरक्षित र व्यवस्थित बनाइएको छ। साथै, सुरुङका डिजाईनर इन्जिनियर थापाको अर्धकदको सालिक पनि निर्माण गरिएको छ।
यस सुरुङ मार्गको ऐतिहासिक, सांस्कृतिक र पर्यटन महत्वलाई ध्यानमा राखेर पुनःस्थापना गरिएको छ। अब, यसले पर्यटक र स्थानीय बासिन्दाका लागि उपयोगी बनिरहेको विश्वास गरिएको छ।