वीरगञ्ज। वीरगञ्जस्थित ज्ञानदा एकेडेमीले आयोजना गरेको सहयोग फेयरले विद्यार्थीहरूलाई व्यावसायिक सीप र बजारको वास्तविक अनुभव प्रदान गरेको छ। ४४ वटा स्टलहरूमा खाना, लत्ताकपडा, सवारी साधन, र अन्य सामग्रीका उत्पादन र बिक्री गरिएको थियो। यी सबै स्टलहरू विद्यार्थीहरूले सञ्चालन गरेका थिए, जसले उनीहरूलाई व्यावसायिक सीप सिक्न मद्दत पुर्यायो।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद कोइरालाले भने, “विद्यार्थीहरूले व्यापारिक सोच र व्यवहारिक शिक्षा पाएका छन्।” सहप्रधानाध्यापिका जागृती मिश्रले यो कार्यक्रमले विद्यार्थीहरूलाई आत्मनिर्भर र नवप्रवर्तनशील बनाउन प्रेरित गरेको बताइन्। फेयरमा आधुनिक कपडाहरू, इलेक्ट्रिक सवारी साधनहरू, र दैनिक जीवनका सामानहरूको प्रदर्शनी गरियो।
फेयरका अन्य आकर्षणमा गीतसंगीतका प्रस्तुती, लक्की ड्र, र बालबालिकाका लागि खेलकुद गतिविधिहरू समावेश थिए। प्राविधिक सामग्री र इलेक्ट्रिक सवारी साधनहरूको प्रदर्शनीले आगन्तुकहरूलाई नयाँ प्रविधिबारे जानकारी दिइरह्यो।
कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल पटवारी, प्याब्सन पर्साका वरिष्ठ उपाध्यक्ष सरोज चौधरी लगायतका प्रमुख व्यक्तिहरूको उपस्थिति रहेको थियो।
सहयोग फेयरमा उठेको रकमलाई सामाजिक कार्य र राहतका लागि प्रयोग गर्ने योजना बनाइएको थियो। विद्यालय प्रशासनले यो कार्यक्रमले विद्यार्थी, अभिभावक र समुदायबीच सहकार्य र सद्भाव बढाउन मद्दत पुर्याएको जनाएको छ।