वीरगञ्ज । नेपाल मेडिसिटी वयोधा अस्पताल र छिमेक लघुवित्त वित्तीय संस्थाको सहकार्यमा महागढीमाई नगरपालिका-७, दहियारमा आयोजित स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविरमा ७ सय भन्दा बढी स्थानीयले स्वास्थ्य परीक्षण गराएका छन्।
शिविरमा नेपाल मेडिसिटी वयोधा अस्पतालका डा. मनबोध शाह, प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. रुबिना ताम्राकार गुरुङ, हड्डी रोग विशेषज्ञ डा. सन्तोष साह र डा. प्रकाश यादवको नेतृत्वमा सेवा प्रदान गरिएको थियो। सहभागी बिरामीहरूलाई निःशुल्क औषधि वितरण गरिएको छ।
शिविरमा रक्तचाप र सुगर परीक्षणजस्ता आवश्यक स्वास्थ्य जाँच नेपाल मेडिसिटीका नर्सिङ स्टाफ अलिम मियाँ र सुजाता चौधरीले सञ्चालन गरेका थिए।
डा. मनबोध शाहले शिविरमा आएका बिरामीहरूमध्ये धेरैजसोमा सुगर र रक्तचापका समस्या देखिएको बताए। उनले मौसमी फ्लुको समस्या पनि केही बिरामीमा देखिएको जानकारी गराए। हड्डी रोग विशेषज्ञ डा. सन्तोष साहका अनुसार, धेरै बिरामीमा हड्डीसम्बन्धी समस्या समेत पाइएको छ।
शिविरपछि अस्पतालले थप उपचार आवश्यक परेका बिरामीलाई नेपाल मेडिसिटी वयोधा अस्पतालमा विशेष सुविधा प्रदान गर्ने व्यवस्था मिलाएको छ। यसले स्थानीय बिरामीलाई सहज र गुणस्तरीय उपचार सुनिश्चित गर्ने लक्ष्य राखिएको छ।
छिमेक लघुवित्त वित्तीय संस्थाकी प्रतिनिधि समीता लोहनीले नेपाल मेडिसिटी वयोधा अस्पतालसँग सहकार्य गरेर यस्तो जनमुखी कार्यक्रम आयोजना गर्न पाएकोमा खुसी व्यक्त गरिन्। उनले अल्पसमयमै ठूलो संख्याका बिरामीहरूको सेवामा समर्पित भएका चिकित्सक र स्वास्थ्यकर्मीहरूको योगदानको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरिन्।