वीरगञ्ज । ख्रीष्टमस पर्वको अवसरमा वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ मा सरसफाइ जनचेतना कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यालयको आयोजना तथा वीरगञ्ज ख्रीस्टियान चर्च र आराधना चर्चको सक्रिय सहभागितामा वडा नम्बर ११ को कार्यालय प्राङ्गणबाट सुरु भएको कार्यक्रम फूलबारी टोल, रानिघाट हुँदै ॐ आश्रमस्थित बिरगंज चर्चमा पुगेर समापन गरिएको थियो ।
कार्यक्रममा वडा नम्बर ११ का वडा अध्यक्ष अजय कुमार चौरसिया, वडा सदस्यहरू, वडा सचिव तथा चर्चका धर्मगुरु एल्डर एम.सी. मेथ्यु, एल्डर प्रेम घिमिरे, आराधना चर्चका निरज आचार्य, चर्चका युवाहरू, र वडा कार्यालयका सरसफाइ कर्मचारीहरूको सहभागिता रहेको थियो ।
“आफ्नो वडा आफैँ सफा राखौँ, आफ्नो स्वास्थ्यमा आफैँ ध्यान दिऔँ” भन्ने नाराका साथ आयोजना गरिएको यस कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष चौरसियाले यो अभियानलाई निरन्तरता दिँदै थप प्रभावकारी बनाउने धारणा व्यक्त गरे । सरसफाई अपरिहार्य भएको बताउँदै उनले रोगबाट मुक्त हुनका लागि र स्वस्थ जीवनयापनका लागि घरआगन तथा वातावरण सफा राख्नुपर्नेमा जोड दिए ।
कार्यक्रमले स्थानीय क्षेत्रमा सरसफाइप्रतिको चेतना बढाउन मद्दत पु¥याएको पर्सा ख्रिष्टियन समाजका अध्यक्ष रामप्रसाद घिमिरेले बताए । आउँदै गरेको ख्रीष्टमसको अवसरमा आज सरसफाई गरिएको हो । यसअघि हिजो मात्रै शुभकामना ¥याली निकालिएको थियो ।