बारा । बारामा भन्सार छली गरिएको ६१ लाख १३ हजार ८ सय ५५ रुपैयाँ बराबरको समान नियन्त्रणमा लिई राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको छ। प्रहरी ईकाइहरूले विभिन्न स्थानमा चेकजाँच गर्दा आवश्यक कागजात नभएको र बिल भरपाईभन्दा बढी सामान भेटिएको थियो।
ईलाका प्रहरी कार्यालय अमलेखगंज, बारा
मिति २०८१ मंसिर १६ गते राति ११:२० बजे, जीतपुर सिमरा उप-महानगरपालिका-२१ अमलेखगंज चोकमा प्र.ब.ना.नि. टेक बहादुर कार्कीको कमाण्डमा खटिएको टोलीले प्र.३-०१-००५ ख ९४२२ नम्बरको ट्रक चेकजाँच गर्दा ३५ बोरा चिनी, ६ बोरा आलु, ५ बोरा प्याज लगायत ३ लाख ३६ हजार ७ सय ७ रुपैयाँ बराबरको समान बरामद गरियो।
ईलाका प्रहरी कार्यालय जीतपुर, बारा
मिति २०८१ मंसिर १७ गते बिहान ३:३० बजे, जीतपुर चोकमा प्र.ना.नि. मोहनारायण रायको कमाण्डमा खटिएको टोलीले वीरगंजबाट पथलैया जाँदै गरेको ना ८ ख ८२८६ नम्बरको ट्रकबाट ३१ लाख ७९ हजार २२ रुपैयाँ बराबरको तिरपाल, मोविल, प्लास्टिक सुतली, सुटकेस, बकरम लगायतका सामान नियन्त्रणमा लियो।
प्रहरी चौकी पथलैया, बारा
मिति २०८१ मंसिर १७ गते बिहान ७:१० बजे, पथलैया चोकमा प्र.ब.ना.नि. रोशन अधिकारीको नेतृत्वमा खटिएको टोलीले वीरगंजबाट काठमाडौँ जाँदै गरेको प्र.०२-०३-००१ ख ३६८९ नम्बरको ट्रकबाट २५ लाख ९८ हजार १ सय २६ रुपैयाँ बराबरको अटोपार्ट, ललिपप, चनादाल लगायतका सामान बरामद गर्यो।
बरामद गरिएका सबै समान आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको प्रहरीको भनाइ छ।