वीरगञ्ज | प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय भ्रमण टोलीमा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिलकुमार अग्रवाल पनि सहभागी हुँदै चीन प्रस्थान गर्नुभएको छ। मङ्सिर १७ देखि २० गतेसम्म चीन भ्रमणका क्रममा चिनियाँ उद्योगी, व्यवसायी, र त्यहाँका चेम्बरसँग द्विपक्षीय व्यापार र आर्थिक सहकार्य विस्तारबारे व्यापक छलफल हुने कार्यक्रम रहेको छ।
चीन प्रस्थान गर्नुअघि अध्यक्ष अग्रवालले आफ्नो सहभागिता क्षेत्रीय विकासका लागि फलदायी बनाउन ध्यान केन्द्रित गरेको बताउनुभयो। उहाँले पर्सा–बारा क्षेत्रले बोकेका आर्थिक सम्भावनालाई चिनियाँ उद्योगी र व्यवसायीहरूसमक्ष प्रभावकारी रूपमा प्रस्तुत गर्ने र त्यस क्षेत्रमा कृषि, उद्योग, पर्यटन, तथा पूर्वाधारमा लगानीका लागि आह्वान गर्ने योजना रहेको जानकारी दिनुभयो।
अध्यक्ष अग्रवालको प्रधानमन्त्रीको भ्रमण टोलीमा समावेश हुनुलाई वीरगञ्ज उद्योग वाणिज्य सङ्घ र यस क्षेत्रका व्यवसायीहरूले ठूलो अवसरका रूपमा हेरेका छन्। स्थानीय व्यवसायीहरूका अनुसार यस सहभागिताले मोफसलका उद्योगी तथा व्यवसायीहरूको साझा अपेक्षालाई सरकारले प्राथमिकता दिएको पुष्टि गर्छ।
प्रधानमन्त्रीको भ्रमण टोलीमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल, महासङ्घका पूर्वअध्यक्ष चण्डीराज ढकाल, वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ, र उपाध्यक्ष ज्योत्सना श्रेष्ठसहित अन्य थुप्रै उच्चस्तरीय उद्योगी–व्यवसायीहरूको समेत सहभागिता रहनेछ।
यो भ्रमणले नेपाल र चीनबीचको व्यापारिक सम्बन्धलाई थप प्रगाढ बनाउने अपेक्षा गरिएको छ। विशेषगरी, पर्सा–बारा क्षेत्रलाई आर्थिक सम्भावनाका रूपमा चिनाउँदै नेपाली व्यवसायीहरूले चिनियाँ लगानीकर्ताहरूलाई आकर्षित गर्ने प्रयास गर्नेछन्। यस भ्रमणले दुई देशबीचको आर्थिक सहकार्यमा नयाँ आयाम थप्ने विश्वास अध्यक्ष अग्रवालले व्यक्त गर्नुभएको छ।
चिनियाँ चेम्बर तथा व्यवसायीसँग हुने भेटघाटहरूमा स्थानीय स्तरका उद्योग–व्यवसायको प्रवर्द्धन, सम्भावित सहकार्यका क्षेत्र, र दीर्घकालीन साझेदारीका सम्भावनाहरूमा छलफल गरिनेछ। साथै, नेपाली उत्पादनलाई चिनियाँ बजारमा पु¥याउन आवश्यक रणनीतिहरूमा पनि चर्चा हुने अपेक्षा गरिएको छ।
प्रधानमन्त्रीको यो भ्रमण, र अध्यक्ष अग्रवालको सहभागिताले क्षेत्रीय उद्योग–व्यवसायलाई थप उचाइमा पु¥याउने विश्वास स्थानीय व्यवसायीहरूले व्यक्त गरेका छन्।