वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिकामा मेयर सिंहासन साह तेलीको व्यवहारका कारण चार महिनादेखि नगरका सामुदायिक विद्यालयका शिक्षक, स्वास्थ्यकर्मी र नगर कर्मचारीले तलब भत्ता पाउन सकेका छैनन् । दसैँ, तिहार र छठजस्ता प्रमुख पर्वहरूमा पनि तलब नपाउँदा उनीहरू घर खर्च चलाउनसमेत समस्यामा परेका छन् ।
नगर सभाबाट बजेट पारित भए पनि मेयर तेलीले प्रमुख प्रशासकीय अधिकृत मोहम्मद शेरे मुस्तफालाई बजेट खर्चको अख्तियारी नदिँदा शिक्षक, स्वास्थ्यकर्मी, र कर्मचारीले साउन महिनादेखिको तलब पाउन सकेका छैनन् ।
नगरपालिकाका १८ सामुदायिक विद्यालयका १९० शिक्षक, ९ स्वास्थ्य चौकीका ४७ स्वास्थ्यकर्मी, र ७५ नगरपालिका कर्मचारीलाई मासिक १ करोड १८ लाख रुपैयाँ तलब आवश्यक पर्दछ । तर, मेयरको निर्णय प्रक्रियामा अवरोधका कारण सबै कामकाज प्रभावित बनेको छ ।
मेयर तेली निर्वाचित भएपछि निरन्तर विवादमा रहँदै आएका छन् । बजेट खर्चको अख्तियारी नदिएर नगरपालिकाको कामकाज अवरुद्ध बनाउनु ताजा उदाहरण हो । उनले नगर सभामा पारित बजेटको ६० प्रतिशत खरिदमा केन्द्रित भएको आरोप लगाउँदै बजेट खर्चको अनुमति नदिएको बताएका छन् । “प्रमुख प्रशासकीय अधिकृतले राजनीति गर्दै छन्,” मेयर तेलीले भने । वडा नम्बर ६ को योजना नगर सभामा समावेश नभएको भन्दै उनले अख्तियारी दिन अस्वीकार गरेका हुन् ।
तर, प्रमुख प्रशासकीय अधिकृत मुस्तफाले भने कानुनबमोजिम निर्णय नभई आफूले प्रक्रिया अघि नबढाएको प्रस्ट पारे । “वडा नम्बर ६ को योजना नगरबाट चलाउन दबाब आयो। तर, नगर सभाको निर्णयबिना त्यो सम्भव छैन,” उनले भने ।
नगरपालिकाभित्र मेयर र प्रमुख प्रशासकीय अधिकृतबिचको विवाद पुरानै हो । गत असोजदेखि मेयर तेलीले प्रमुख प्रशासकीय अधिकृतको सरुवाका लागि काठमाडौँ धाइरहेका छन् । यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनपछि डोर हाजिरीमार्फत नियुक्त २८ कर्मचारी हटाइएको थियो । यो निर्णयले पनि मेयर र प्रशासकीय अधिकृतबिच टकराब गहिरो बनाएको बताइन्छ ।
वडा नम्बर ३ का वडाध्यक्ष दिनेश यादवका अनुसार, “स्वास्थ्य शाखामा नयाँ कर्मचारी नियुक्तिको विषयमा पनि दुबैबिच मतभेद थियो । हाकिमले मेयरको निर्देशन अनुसार काम नगरेपछि मेयरले उनलाई सरुवा गराउन दबाब दिइरहेका छन् ।”
स्थानीय सरकार सञ्चालन ऐनअनुसार नगर सभाबाट बजेट स्वीकृत भएको सात दिनभित्र मेयरले प्रशासकीय अधिकृतलाई बजेट खर्चको अख्तियारी दिनुपर्ने प्रावधान छ । तर, गत कात्तिक ८ गते सम्पन्न नगर सभाको करिब एक महिना पुग्न लाग्दा पनि मेयरले अख्तियारी नदिएपछि सम्पूर्ण कामकाज ठप्प छन् ।
गत शुक्रवार उपमेयर सुष्मा कुशवाहको नेतृत्वमा वडाध्यक्षहरूले प्रमुख जिल्ला अधिकारी र कोष तथा लेखा नियन्त्रकलाई ज्ञापन पत्र बुझाएका थिए । “मेयरले कामकाजलाई ठप्प पार्ने नियतले अख्तियारी दिएका छैनन्,” उपमेयर कुशवाहले भनिन् ।
मेयरको असहयोगका कारण बहुदरमाईमा विकास निर्माण र प्रशासनिक काम ठप्प छन् । शिक्षक, स्वास्थ्यकर्मी, र कर्मचारीलाई तलब नपाउँदा उनीहरूको दैनिक जीवन प्रभावित भएको छ । मेयर तेलीको नेतृत्वलाई लिएर स्थानीय तहमा असन्तोष चुलिँदो छ ।
मेयरको विवादास्पद कार्यशैलीका कारण बहुदरमाई नगरपालिकाको जनतामुखी सेवा बाधित भएको छ । स्थानीय जनप्रतिनिधि र नागरिकहरूले नगर प्रमुखको जिम्मेवारी बोध र समन्वयकारी भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।