वीरगंज | आजदेखि काठमाडौंको ऐतिहासिक धरहरा टावरमा प्रवेश र पार्किङका लागि शुल्क लाग्ने भएको छ। संविधान दिवसको अवसरमा असोज ३ देखि धरहरा निःशुल्क खुला गरिएको थियो, तर पछिल्लो मन्त्रिपरिषद् निर्णय अनुसार अब धरहरा चढ्न प्रतिव्यक्ति २०० रुपैयाँ शुल्क तोकिएको छ।
छुटको व्यवस्था पनि गरिएको छ – विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपांगता भएका व्यक्तिहरूलाई १०० रुपैयाँमा टिकट उपलब्ध हुनेछ। पर्यटकीय शुल्कमा पनि भिन्नता राखिएको छ। सार्क राष्ट्रका नागरिकलाई ५०० रुपैयाँ र अन्य विदेशी पर्यटकलाई १,००० रुपैयाँ शुल्क तिर्नु पर्नेछ।
पार्किङ शुल्क पनि लागू भएको छ – चार पांग्रे गाडीका लागि प्रतिघन्टा २० रुपैयाँ र दुई पांग्रेलाई १० रुपैयाँ तोकिएको छ। थप रूपमा, धरहरा परिसरमा विज्ञापन, भिडियो छायांकन र फोटोग्राफीका लागि पनि शुल्क निर्धारण गरिएको छ।
धरहरा परिसरमा विभिन्न व्यावसायिक गतिविधिहरूको लागि शुल्क पनि तोकिएको छ। राष्ट्रिय महत्वका विज्ञापनहरू धरहरा स्तम्भमा राख्न चाहनेलाई प्रतिघन्टा ५,००० रुपैयाँ तिर्नु पर्नेछ। यस्तै, व्यावसायिक भिडियो छायांकनका लागि पनि प्रतिघन्टा ५,००० रुपैयाँ र फोटोग्राफीका लागि १,००० रुपैयाँ शुल्क लाग्नेछ।
यस नयाँ शुल्क प्रणालीको उद्देश्य धरहराको व्यवस्थापन सुधार गर्ने र पर्यटन क्षेत्रको विकासमा योगदान पुर्याउने हो। धरहरा व्यवस्थापनका अधिकारीहरूका अनुसार, शुल्कले संस्थाको दीर्घकालीन सञ्चालन र मर्मतसम्भारमा सहयोग पुर्याउने विश्वास गरिएको छ।
पर्यटक र स्थानीयले यस परिवर्तनलाई सकारात्मक रूपमा लिइरहेका छन्, जबकि केहीलाई शुल्कको बृद्धि भने चासोको विषय बनेको छ। नयाँ शुल्क संरचनाले धरहरा क्षेत्रको सञ्चालनलाई थप व्यवस्थित र व्यवासिक बनाउने आशा गरिएको छ।