वीरगन्ज | पर्सा जिल्लामा प्रहरीले एक मिनी ट्रकमा लुकाएर राखिएको ठूलो परिमाणको लागू औषध गाँजा बरामद गरेको छ। शुक्रवार बिहान ३:३० बजे विशेष सूचनाको आधारमा गरिएको चेकजाँचका क्रममा ८५ किलोग्राम गाँजा बरामद भएको हो।
प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार, वीरगन्जको बाइपास सडकमा वडा प्रहरी कार्यालय विर्ता, लागु औषध नियन्त्रण ब्यूरो पर्सा र प्रहरी चौकी ईनर्वाका संयुक्त टोलीले उक्त मिनी ट्रकलाई रोकेर तलास गरेको थियो। मिनी ट्रकको कन्टेनरमा ४ वटा सेतो प्लाष्टिक बोरामा गाँजा लुकाइएको अवस्थामा फेला परेको थियो।
बरामद गाँजा र मिनी ट्रकसहित ३ जना व्यक्तिहरूलाई पक्राउ गरिएको छ। पक्राउ पर्ने व्यक्तिहरूमा सिन्धुपाल्चोकको बलेफी गाउँपालिका वडा नम्बर ६ का ३६ वर्षीय शान्त बहादुर तिमिल्सिना, मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर ९ का ४८ वर्षीय प्रेम रूम्बा, र मकवानपुरकै कैलाश गाउँपालिका वडा नम्बर १ का ३८ वर्षीय सुर्य बहादुर मोक्तान रहेका छन्।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, तिमिल्सिना मिनी ट्रकको चालक थिए, जबकि अन्य दुई जनाको सम्बन्धमा हालसम्म स्पष्ट जानकारी प्राप्त नभएको प्रहरी नायब उपरीक्षक लम्सालले जानकारी दिएका छन्।
प्रहरीले तीनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको जनाएको छ। यस घटनाले वीरगन्ज र पर्सा क्षेत्रका सुरक्षा व्यवस्थामा अझ बढी सर्तकता र निगरानीको आवश्यकता दर्शाएको छ।