वीरगञ्ज। वीरगञ्ज महानगरपालिकाले १० हजारभन्दा बढी छात्राहरुलाई लक्षित गर्दै एक दिने आत्मरक्षा तालिमको आयोजना गरेको छ। बुधबार बिहान १० बजे सुरु भएको तालिममा कक्षा ६ देखि १२ सम्मका छात्राहरू सहभागी भएका छन्। यस तालिमको उद्देश्य छात्राहरूको आत्मविश्वास र सुरक्षा क्षमता वृद्धि गर्नु हो।
यो तालिम वीरगञ्ज महानगरपालिकाको आयोजना र नेपाल भारत सहयोग मञ्चको समन्वयमा आयोजित गरिएको हो। कार्यक्रममा भारतका ख्यातिप्राप्त मार्शल आर्ट प्रशिक्षक डा. चिता यजनेश शेट्टीले छात्राहरुलाई आत्मरक्षाका विभिन्न उपायहरू प्रशिक्षण दिइरहेका छन्।
तालिम आदर्शनगर रंगशालामा सञ्चालन भइरहेको छ, जसका बारेमा महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले जानकारी दिएका छन्।
डा. शेट्टी एक प्रसिद्ध मार्शल आर्ट प्रशिक्षक मात्र होइन, बलिउड र हलिउडका चर्चित अभिनेता, निर्देशक र निर्माता पनि हुन्। उनले अमिताभ बच्चन, सलमान खान, ऋतिक रोशन लगायतका प्रमुख स्टारलाई प्रशिक्षण दिइसकेका छन्।
नेपाल भारत सहयोग मञ्चका अध्यक्ष अशोक वैद्यका अनुसार, यस तालिमले छात्राहरूसँगै समुदायमा पनि सुरक्षा र आत्मनिर्भरता प्रवर्धन गर्न ठूलो मद्दत पुर्याउने विश्वास गरिएको छ। तालिममा सामुदायिक र निजी विद्यालयका छात्राहरूको उत्साहजनक सहभागिता रहेको छ, जसले कार्यक्रमको प्रभावकारिता र महत्त्वलाई थप पुष्टि गरेको छ।