वीरगञ्ज । चार दिनसम्म मनाइने लोक आस्थाको पर्व छठको दोस्रो दिन आज ‘खरना’ विधि सम्पन्न गरिँदैछ। मङ्गलबार पहिलो दिन ‘नहाय–खाय’ गरी सुरु गरिएको यस पर्वमा आज कार्तिक शुक्ल पञ्चमी तिथिमा बर्तालुहरूले दिनभर निराहार उपवास बसेर साँझपख खरना विधिमा संलग्न हुनेछन्।
खरना विधिमा बर्तालुहरूले बिहान पवित्र स्नानपछि उपवासको थालनी गर्छन्। दिनभर निराहार बस्दै राति चन्द्रदर्शन गरेपछि बर्तालुले माटोको चुल्होमा सक्खर, दूध, र धानको चामल मिलाएर पकाइएको खिर छठी मातालाई चढाउनेछन्। यस खिरलाई प्रसादको रूपमा बर्तालु र परिवारका सदस्यले ग्रहण गर्ने परम्परा छ।
छठ पर्वको महत्त्वपूर्ण पक्ष भनेकै शुद्धता, समर्पण र निष्ठा हो। खरना पछि बर्तालुहरू अझ गम्भीर भई पर्वको तेस्रो दिनको तयारीमा लाग्नेछन्। भोलि अर्थात कात्तिक शुक्ल षष्ठी तिथिमा अस्ताउँदो सूर्यलाई जलाशयमा पुगेर ‘साँझको अघ्र्य’ दिने चलन छ। यो विधिलाई सँझिया घाट भनिन्छ। छठको चौथो र अन्तिम दिन सप्तमी तिथिमा उदाउँदो सूर्यलाई ‘बिहानी अघ्र्य’ दिइनेछ।
यसलाई पारन पनि भनिन्छ, जसमा सूर्यदेवलाई ठकुवा, भुसुवा, र केरासहितका प्रसाद चढाइने परम्परा रहेको छ। यस पर्वमा छठका विशेष परिकार ठकुवा र भुसुवा पिठोबाटै तयार गरिन्छन्। घाटमा विशेष सरसफाइ गरी अघ्र्य दिने तयारी गरिन्छ, जसले यो पर्वको पवित्रता झल्काउँछ। छठको महत्व अब मधेश र पहाड दुवैतिर विस्तार हुँदै आएको छ। भारतको सीमावर्ती क्षेत्रका इस्लाम धर्मावलम्बीसमेत यो पर्वमा सहभागी हुने परम्परा छ। विविध धर्म, संस्कृति, र समुदायलाई एकतामा बाँध्दै गएको यो पर्व लोकसंस्कृतिको अभिन्न अंग बनेको छ।