वीरगञ्ज । पर्सा जिल्लाको पकाहामैनपुर गाउँपालिका वडा नम्बर २ मा जग्गाको विवादले दुइपक्षीय झडप हुँदा १० जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार उमेश कुमार महतो पक्ष र महन्त महतो पक्षबीच लामो समयदेखि चल्दै आएको जग्गा विवादले पुनः उग्ररूप लिएपछि झडप भएको हो।
प्रहरी नायव उपरीक्षक दीपक भारतीका अनुसार यस विवादमा अदालतले उमेश कुमार महतो पक्षको पक्षमा फैसला सुनाएको थियो। सोही फैसलापछि उमेश पक्षले विवादित जग्गामा तोरी छरेका थिए। पानी सिँचाइको क्रममा महन्त महतो पक्षले जग्गाको नाप नक्शा मिलाउनु पर्ने भन्दै रोक लगाएको र यसै कारण दुई पक्षबीच झडप भएको बताइएको छ।
झडपमा उमेश पक्षका उमेश कुमार महतो, अनिल कुश्वाहा, अमिरनारायण कुश्वाहा, राधेश्याम कुश्वाहा र सुनितादेवी घाइते भएका छन्। महन्त महतो पक्षबाट विश्वनाथ कुश्वाहा, विजय उर्फ अमरजित कुश्वाहा सहित १०-१५ जनाको समूहले उमेश पक्षमाथि लाठी प्रहार गरेको आरोप छ।
घाइतेहरूमध्ये उमेश पक्षका सदस्यहरूको उपचार वीरगञ्जको एलएस न्यूरो अस्पतालमा भइरहेको छ भने महन्त पक्षका घाइतेहरूको उपचार नारायणी अस्पतालमा गरिएको प्रहरी कार्यालयले जनाएको छ। यस झडपले स्थानीय क्षेत्रमा तनावको स्थिति सिर्जना गरेको छ भने प्रहरीले घटनास्थलमा थप सुरक्षा व्यवस्था मिलाएको जानकारी दिएको छ।